ताजा अपडेट »

तिनाउको वार्ड २ द्वारा डेढ सय युवा उद्यमीलाई सम्मान

विहीबार, २२ पुस २०७८, २० : ००
6 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका– वार्ड नं.२ ले युवा उद्यमी तथा व्यवसायीलाई सम्मान गरेको छ । वार्डले वार्डभित्र रहेर विभिन्न उद्यम तथा व्यवसाय गर्ने १ सय ५० जनालाई सम्मान गरेको हो । वार्डले बिहीबार एक समारोहको आयोजना गरी वार्ड भित्र रहेका ८ टोल विकास संस्थालाई पनि सम्मान गरेको छ । त्यसैगरी वार्डले वार्ड सफा सुग्घर र स्वास्थ्य राख्न भन्दै डष्टविन,कुचो लगाएतका सामग्री वितरण गरेको छ ।

सम्मान समारोह वार्ड नं.२ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठको अध्यक्षता,लुम्बिनी प्रदेश सभा सदस्य बसन्त घर्तीको प्रमुख आतिथ्यता र गाउँपालिका उपप्रमुख दमयन्ती थापाको विशिष्ट आतिथ्यतामा भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि घर्तीले लाखौं युवा रोजगारका लागि विदेशिएको बताउँदै आफ्नै गाउँ घरमा स्वरोजगार हुने युवाहरुको प्रशंसा गरे । उनले भने ‘रोजगारका लागि लागि लाखौं युवाहरु विदेश गएका छन् । घर परिवार छोडेर अर्काको ठाउँमा वा अन्त काम गर्नु दासत्व सरह हो । आफ्नै गाउँमा, आफ्नै परिवारसँग बसेर अरुलाई पनि रोजगार दिनेगरी स्वरोजगार हुनु निकै राम्रो र उदाहरणीय हो । अब धेरै भन्दा धेरै भन्दा धेरै युवा स्वरोजगार बन्नु पर्दछ ।’

राजनीतिक परिवर्तनको अन्त्य भएको बताउँदै उनले अब आर्थिक परिवर्तन र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । ‘मुलुकमा अब राजनीतिक क्रान्ति र परिवर्तन सकिएका छन् । अबको क्रान्ति आर्थिक विकास र समृद्धिका लागि हुनु पर्दछ । आर्थिकसँगै समाजवादमा पनि जोड दिनु पर्दछ । अहिले देश पूँजीवादमा टेकेर समृद्धिको यात्रामा छ तर, त्यसरी हुँदैन समाजवाद अनुसार अगाडि बढेर समृद्धितर्फ लाग्नु पर्दछ ।’उनले औंल्याएँ ।

त्यसैगरी विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष थापाले गाउँपालिकाले स्थानीयलाई उद्यमी बनाउनका लागि विभिन्न योजना सञ्चालन गरेको बताउँदै प्रभावकारी बनाउन आग्रह गरिन् । उनले भनिन् ‘हामीले स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गर्दै आएका छौं । तर, कार्यक्रमहरु प्रभावकारी बनाउन व्यवहारमानै काम गर्नु पर्दछ,तालिममा सिकेको सीपअनुसार व्यवसायिक बन्नु पर्दछ ।

सम्मान कार्यक्रमकै अवसरमा वार्डले ग्रामिण भेगका बिरामीलाई उपचार केन्द्रसम्म सहज पुर्याउन भनेर ६ वटा स्टेचर वितरण गरेको छ । वार्डभित्र रहेर उद्यम तथा व्यवसाय गरेका युवाहरुलाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरिएको वार्ड अध्यक्ष श्रेष्ठले बताए । उनले भने ‘ग्रामिण क्षेत्रमा रहेर स्वरोजगार गरेका र विभिन्न उद्यम व्यवसायबाट स्थानीय स्तरमा योग्दान पुर्याएका युवाहरु सम्मान गर्दै उहाँहरु लगाएत अन्यलाई पनि प्रोत्साहन गर्नका लागि सम्मान गरिएको हो । त्यसैगरी वार्डको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी सामग्री वितरण गरेका छौं ।’

सम्मान समारोहमा वार्डले पाल्पा र रुपन्देहीका पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पाल्पाका पत्रकार सुनिल कार्की , रुपन्देहीका पत्रकार विश्वास ढकाल,भुवन कार्की,कपिल ज्ञवाली र एन.बी.कंडेल रहेका छन् ।

युवा उद्यमी तथा टोल विकास संस्था सम्मान कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, उद्यमीको तर्फबाट अरविन्द पाण्डे ,टोल विकास संस्थाको तर्फबाट मोहनलाल बिक, उद्यमी महिलाको तर्फबाट रिता गुरुङ लगाएतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडासचिव विष्णु गिरीले गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।