गुल्मी । दलित समुदायको घनावस्ती । त्यही वस्तीकै बीचमा बिद्यालय स्थापना भएको पनि ६२ बर्ष पुगेको छ । त्यही विद्यालयमा पढेका अन्य समुदायका थुप्रै मानिसहरुले डिग्री हाँसिल गरे । कैयौंले पिएचडी समेत गरे । तर त्यसै विद्यालयमा पढेका दलित समुदायका हजौंरौ विद्यार्थी मध्ये जम्मा एक जनाले मात्रै हालै डिग्री पास गरेका छन् । समुदायगत रुपमा शैक्षिक क्षेत्रमा यति ठुलो ग्याब भएको ठाउँ हो गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुको हिमालय माध्यामिक बिद्यालय ।
गुल्मी जिल्लामा शिक्षाको ज्योति उदाउने थलो मानिन्छ त्यस बिद्यालय । त्यहाँ अध्यान गर्ने अन्य समुदायका विद्यार्थीले बर्षऔं अघि हो डिग्री पास गरेको तर दलित समुदायका जम्मा एक जना बिद्यार्थीलाई डिग्री पास गर्न ६२ बर्ष लाग्यो । त्यस विद्यालयबाट कक्षा १२ सम्म अध्यान गरेका वस्तु अमराई टोलका झविन्द्र बिश्वकर्माले त्रिभुवन विश्व विद्यालयबाट राजनैतिक शास्त्रमा एमए पास गरेका हुन् । यहि पुस ६ गते सम्पन्न त्रिभुवन बिश्व विद्यालयको ४७ औं दीक्षान्त समारोहबाट बिश्वकर्मा दीक्षित भएका छन् ।
त्यस हिमालय माध्यामिक विद्यालय २०१५ सालमा स्थापना भएको र २०१६ साल देखि सरकारी तवरबाट मान्यता पाएको प्रधानध्यापक मदनकुमार सिंह बताउँछन् । प्रध्यानाध्यापक सिंह.भन्छन्–‘ मैले बुझे सम्म त्यस विद्यालयका पुर्व विद्यार्थी मध्ये दलित समुदायबाट एमए पास गर्ने झविन्द्र बिश्वकर्मा नै पहिलो हुन् । गत ३३ बर्ष देखि त्यस बिद्यालयमा रहेका प्रधानध्यापक सिंहले थपे –‘मैले नै पढाएका विद्यार्थी हुन उनि । सानै देखि असाध्धै मेहनती र अनुशासित विद्यार्थी थिए, उनले हालै एमए पास गरेकोमा असाध्धै खुशी लागेको छ ।’
त्यसै बिद्यालयमा २०४७ साल देखि पढाएका र सहायक प्रधानध्यापक समेत रहेर हाल वस्तु कै धुर्कोट परमानन्द ् क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद भण्डारीले दलित समुदायबाट एमए पास गर्ने झविन्द्र नै पहिले ब्यक्ती भएको बताए । उनले भने –‘म स्थानीयवासी पनि हुँ । बहुदल नआउनु पुर्वसम्म यहाँका दलित समुदायका बालबालिकालाई विद्यालय ल्याउन पनि नसकिने अवस्था थियो । बहुदल पछि त्यो समुदायमा चेतनाको विकास भयो । त्यस यता उनीहरुको शैक्षिक विकासमा हामीले जोड दिदै आयौं , उनीहरुलाई मोटिभेट गर्न सफल भयौं र एसएलसी पास गर्नेहरु धेरै भए । डिप्लोमा गर्नेहरु पनि धेरै छन तर त्यो समुदायबाट एमए पास गर्ने झविन्द्र नै पहिलो हुन् । उनलाई बधाई छ ।’
वस्तु अमराई स्थित झविन्द्र बिश्वकर्माकै टोलका दलित अगुवा टिका बिश्वकर्माले पनि एमए पास गर्ने उनै पहिलो दलित भएको बताए । ‘वस्तुको हिमालय मावि मुनी दलितहरुको घनावस्ती रहेको छ । तर शिक्षामा बत्ति मुनीको अँध्यारो जस्तै हुँदै आएकोमा आज त्यही अँध्याराबाट सानो–मधुरो प्रकाश आएको महशुस भएको छ’– बिश्वकर्मा सहितका त्यहाँका दलित समुदायले भने–‘पछिल्लो चरण यस भेगका दलितहरुले उच्च शिक्षा हाँसिल गर्ने क्रम बढ्दो छ ।’
२०४४ साल बैशाख १२ गते वस्तु अमराईका बाबु पेमबहादुर सुनार र आमा पुतली सुनारको कोखबाट जन्मिएका झविन्द्र बिश्वकर्माको पहिलो पाठशाला हो त्यस गाउँको हिमालय मावि । उनले त्यहीबाट कखरा सिकेर त्यहीबाट२०६० सालमा एसएलसी पास गरेका थिए । उनले २०६२ सालमा कक्षा १२ पनि त्यहीबट उतिर्ण गरेका थिए । त्यस पछि उच्च शिक्षाका लागि काण्ठमाण्डौ पुगेका उनले आरआर क्याम्पसबाट २०७३ सालमा बिए पास गरेका थिए ।
उनैले २०७८ सालमा त्रिभुवन बिश्व बिद्यालय किर्तिपुरबाट डिग्री पास गर्न पुगेका छन् । सान्य परिवारमा जन्मिएका तपाईलाई यसरी डिग्री पास गरुँला भन्ने थियो ? भन्ने प्रश्नमा बिश्वकर्माले भने –‘ काठमाण्डौ आए पछि निकै निरासा छायो, आर्थिक अवस्था पनि कम्जोर भएकोले विदेश तिर लागौं जस्तो भएको थियो । जेहोस अनेकन संघर्ष संघर्षका बीच यहाँ सम्म आईयो ।’
काठमाण्डौंका विभिन्न संघ संस्थामा आवद्ध उनी वस्तु काठमाण्डौं सम्पर्क समाजको कोषाध्यक्ष हुँदै सचिव पदको जिम्मेवारी सम्हालेका छन् । हिमालय मावि पुर्व विद्यार्थी समाज सहित उनी कर्मचारी ट्रेड युनियन नेपाल आयल निगम कर्मचारी संघको केन्द्रिय महासचिवको जिम्मेवारीमा छन् । दलित अधिकारको क्षेत्रमा कलम चलाउँदै आएका उनले ‘ नदेखिने जातको पीडा’ ‘छुवाछुत उस्तै तन्दुरुस्तै’ र ‘जात थर के हो ?’ लगायतका लेखहरु पत्रपत्रिका र अनलाईनमा प्रकाशित भई सकेका छन् ।
प्रतिक्रिया