ताजा अपडेट »

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

बुधबार, २१ पुस २०७८, २० : ३९
4 Shares

गुल्मी । गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा १२.४ प्रतिशत उत्पादनमा वृद्धि भएको हो । अहिले पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष पाँच हजार दुई सय ७९ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

गत वर्ष चार सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गरिएको थियो । अहिले पाँच सय ३९ हेक्टरमा सुन्तला उत्पादन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । उत्पादकत्व गत वर्ष १०.७५ मेट्रिक टन र यो वर्ष ११.२० मेट्रिक टन उत्पादकत्व रहेको छ ।

यो वर्ष उत्पादन बढ्नुमा उत्पादन क्षेत्रफलमा वृद्धि, फल पातलो भए पनि फलको आकार ठूलो भएको, बगैँचा व्यवस्थापनमा सचेतना बढ्नु, मौसम अनुकूल हुनु र फल्ने बोटको संख्यामा वृद्धि भएको भण्डारीले बताए । अहिले करिब १० करोड ८० लाख सुन्तलाबाट आम्दानी हुने अनुमान गरिएको छ । जिल्लाका सबै पालिकामा सुन्तला खेती गरिएको छ । तर, उत्पादनको हिसाबले पकेट क्षेत्र निर्धारण गरिएको छ ।

मुसिकोटको ददल्का, सत्यवतीको लिम्घा, भार्से र ठूलो लुम्पेक, कालिगण्डकीको अर्वेनी, जयखानी, छत्रकोटको हुंगा, श्रृंगा, लुम्छा र हर्दिनेटा सुन्तला पकेट क्षेत्र हुन् । भण्डारीका अनुसार गुल्मी दरबारको गौडाकोट, जुभुंग, रेसुंगा नगरपालिकाको भाडगाउँ, अर्खले, भुवन पानी, बालकाटे, धुर्कोटको पिपलधारा, नयाँगाउँ, हाडहाडे, रजस्थल, बस्तु, मदानेको भनभने, पुर्कोटदह पकेट क्षेत्र रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।