ताजा अपडेट »

नेपाली भान्छा : युग बदल्ने मोडमा !

विहीबार, १५ पुस २०७८, १७ : ५४
14 Shares


सरदरमा नेपाली भान्छा प्रत्यक्ष आगोसंग जोडिएको छ । आगोले जलाउँने दाउरा, कोइला, गुइँठाको तापले पकाउने, पोल्ने, सेक्ने ताप्ने मान्छेको परम्परादेखिको दैनिकी रहेर आयो । मान्छेले आगोको श्रोत जानेदेखि हाम्रो जीवनसँग अविछिन्न रूपमा जोडिएर आएको छ । घर्षणबाट निस्कने झिल्कालाई ज्वलनशील बस्तु(ठोस, तरल वा ग्यास)मा विकास गरियो । रसायनिक वा विद्युतको खोजीले यसलाई झनै फराकिलो बनायो । नेपालमा आगो संरक्षण मात्रृयुगबाटै रहेको प्रमाण काठमाण्डौं उपत्यकाको बज्रयोगिनीको अगेनाको अविछिन्न आगोले दिइरहेको छ ।

आगो उज्यालो र ताप प्राप्ति जीवनको अबिभाज्य अङ्ग बनेको छ । हिउद बर्खालाई दाउरा(इन्धन)को जोहो आफैले गर्न नसक्ने अवस्थाको शहरी बस्तीमा समेत किनेर दाउरा संकलन गरिन्थ्यो । बजारमा बस्नेहरूले दाउराको बिकल्पको खोजी थालेका हुन । अगेनामा ओदान, बाहिर वा यात्रामा इल्टा बसालेर खाना पकाउने तरिकामा नयाँ प्रयोग सुरू भयो । कोइला(दाउरा र पत्थर कोइला) बाल्ने चुलो प्रयोगमा आयो । धानको डडाल्नु र काठ चिरेको धुलो खाँदेर बाल्ने ढुङ्रे चुलोको विकास भयो ।

कम धुवाँ र सानो ठाउँमा भान्छाको काम चलाउने उपायको खोजी निरन्तर चलिरह्यो । ताप केन्द्रित धुँवारहित चुलाका विविध प्रयोग भइरहे । मानव बस्ती बढ्ने र बनजंगल घट्ने टाढिने अवस्थाको सामना गर्न केरोसिन (मट्टीतेल ) आयात गरियो, यसलाई बाल्ने पित्तल र फलामका स्टोभ ल्याइयो बिदेशबाट ।

सय वर्ष पहिले नेपालमा ल्याएको हाम्रो जलविद्युतको प्रविधिलाई उछिनेर बिदेशी व्यापारीहरु हाम्रा भान्छामा छिरे । उनीहरू पाहाड मधेश जताततै ग्यासका सिलिन्डर हामीलाई बोकाउँदै पसे । हामीले सम्भव ठाउँमा गोबर ग्यास जडान गर्न थाल्दा नथाल्दै लाइटरका झिल्काले सल्कने ग्यास चुलोमा रसबसाएर लठ्याए । यसैलाई हामी सुविधा र प्रतिष्ठा ठान्ने बन्यौं ।

नेपाली भान्छाले व्यवसायी रूप लिन अझै लामो समय पर्खनु पर्छ । दौडा–दौड कामकै बीचमा खानुपर्ने जीवनशैलीबाट धेरै पछाडि छौं हामी । हाम्रो भान्छा हजुरआमा, आमा हुँदै बुहारीमा सर्ने ढाँचाको छ । हाम्रोमा बिहान बेलुका उस्तै परे दिउँसो पनि चुलो सेलाउँदैन । कम्तिमा एकजना भान्छामा जनशक्ति लगानी अनिवार्य जस्तै छ । कृषिप्रधान भन्ने निर्वाहमुखी खेती गर्ने कुरालाई व्यवसायी मुखीमा परिणत हुन सकेको छैन । भान्छाको ढाचामा फेरबदलको बाध्यता महसुस हुनसकेको छैन । चलेकैछ भन्ने सोंचले निरन्तरता पाइरहने छ तबसम्म ।

हामी भान्छामा विदेशी व्यापारी र तिनका नेपाली स्थानीय डिलर(एजेन्ट)हुलेर क्रमशः थपिने मूल्य तिर्ने कि नयाँप्रविधिमा जाने दोबाटामा सोच्दैछौं । नेपाली भान्छा टोलाएर उभिएको छ यतिबेला । छोराहरु यसबाट प्रायः पृथक रहने, भान्छामा आसन जमाएका हजुरआमाहरू नयाँ प्रविधिमा जान हच्कने, छोरी बुहारीबाट सिक्नभन्दा ग्यास चुलैमा टास्सिने मनोविज्ञान, पुरानो पुस्तालाई सम्मान गर्दै सिकाउनमा नयाँ पुस्तामा देखिने धैर्यताको कमीले पनि हाम्रा भान्छामा नयाँ प्रविधि भित्राउन अघोषित समस्या परेको देखिन्छ ।

हामीलाई विद्युत प्राधिकरणले मिटरमै ५ एम्पियरको अङ्कुश लगाएको थियो । इलेक्ट्रिसियनले १६ एम्पिएर पुर्याएर डेढ दशक अघिसम्म गुन लगाउँथे घरमा मिटर राख्दा । अझै पनि विद्युत प्राधिकरण पीडित ५ एम्पियर मिटर जडानवाला घरहरू प्रयाप्त रहेकाछन। घर–घरमा रहेका यी समस्याले चुलाका सिलिन्डरलाई न्यूनीकरण गर्ने कुरा र विद्युतीय चुलो(इन्डक्शन) संचारको प्रचारमा सिमित जस्तै बनेको छ ।

हामीकोमा भान्छाको युग बदल्ने संगठित जनशक्ति पनि छ । नाकाबन्दीदेखि लोडसेडिङमुक्त भएर अहिलेसम्म पनि यसले खासै सरोकार राखेको पाइएको भने छैन । जहींतहीं रहेका स्थानीय निकायका टोल विकास समितिहरू, आमा समूहहरू, सहकारी सँस्थाहरूले भान्छामा विद्युत प्रवेशको एजेण्डा बनाउने हो भने यसले तीब्रगतिमा नेपालीभान्छामा बिजुलीको प्रयोग र एल्पी ग्यासलाई घटाउन सकिन्छ । ग्यासभन्दा विद्युतीय चुलोमा पकाउदा सस्तोमा वितरण गर्ने चासो र तदारूकता सरकारी पक्षबाट पहल र प्रतिवद्धता भने हुनुपर्छ ।

खोलालाई झोलामा राखेर लोडसेडिङ गराउने र डिजेलपावर प्लान्ट भित्राएर अर्थतन्त्र डुबाउने सँस्कारबाट अभ्यस्त छ हाम्रो राज्यसंयन्त्र । नीति बनाएर थन्काउने दलाल पोशाउने अपराधपूर्ण गतिविधि नियन्त्रित छैन । विद्युत नियमित आउँदैन ।लोडशेडिङको अन्त्यले हामी उज्यालोमा प्रवेश गर्यांै, ढुक्क भने भएका छैनौँ । कागजीमा प्रचारमा भएजस्तो व्यवहारमा लय समातेको छैन । अघोषित जतिबेलै बत्ति जाने क्रम जारी नै छ । आन्तरिक खपत बढाउने भनेको भरपर्दाे र निरन्तरता हो । नभनिकन विद्युत जाने, सानो हावा लाग्दा पनि गइहाल्ने अवस्था नियत हो कि नियति हो छुट्टाएर समाधान जरूरी छ ।

मिलिभगत हो भने त घातक र गम्भीर कुरा हो । विद्युतिकरणमा लोड नथेग्ने ट्रान्सफर्मर ,बिना व जग माटोमा कोल्टे परेका पोल ठाउँ–ठाउमा समस्या बनेकाछन । पुराना प्रयोग गरेका बस्तु फालिनहाल्ने घरमा हाम्रा भान्छामा प्रयोग गरिने र गरिएका ओदान, कोइला बाल्ने अँगेठी, , दमदिने स्टोभ, गोबरग्यास, ग्यास सिलिन्डर र अहिले प्रयोगमा आइरहेको विद्युतीय(इन्डक्शन+इन्फारेड) चुलो एउटै घरमा पनि भेट्न सकिन्छ । वर्षमा कम्तिमा ६ ओटा सिलिन्डर एउटा परिवारको भान्छामा खपत हुन्छ।

घरसम्म ल्याइ पुर्याउदा रू १५७५– घरघरबाट यसको नाफा–मुनाफा बिदेश जाने हो । यसलाई न्यूनीकरण मात्र गर्दा पनि हामी केही व्यापार घाटालाई घटाउन सकिन्छ । तुलनात्मक रुपमा बिजुली सस्तो पर्छ । ग्यास पड्किने र जनधनको क्षति कम हुन्छ । हामीमा नयाँ प्रविधिमा दक्षता बढ्छ । आयातीत भान्छा स्वावलम्बी भान्छा हुन पुग्छ । समग्रमा हाम्रो भान्छाको युग बदलिन्छ । हाम्रो स्वभिमान बढ्छ ।

हाम्रा छिमेकीहरूसँग हामीले उत्पादन गर्न नसक्ने वा लागत बढी पर्ने बस्तु आयात गनेर्, त्यस्तै वस्तु निर्यात गर्ने हो । भरपर्दाे विद्युत उत्पादन वितरण सुनिश्चित गर्दै आन्तरिक खपत घर–घरमा भान्छामा खपत गर्ने कुरा भनेको हाम्रो भान्छाको कायापलट गर्नु हो । हामी नयाँ विद्युतीय युगमा प्रवेश गर्नु हो । यद्यपि यो क्रमले कम्तिमा दस वर्षको समय लिनसक्छ । ग्यासका डिलरहरूलाई इन्डक्शन चुलोको व्यापार गर्न चाहनेलाई प्रोत्साहन दिने र ग्यास सिलिन्डर घटाउँदै फेरिने बाटोमा पेशा बदल्ने, यसरी जाँदा छिटो विद्युतीकरणमा सघाउ पुग्छ ।

हाम्रो भान्छा भित्रैसम्म सुँढ घुसारेका विदेशी ब्यापारीलाई बरु राम्रो टिकाउ इन्डक्शन बेच्ने अनुमति दिने, नेपालीले नेपालमै निर्माण गर्ने विद्युतीय चुलो निर्मातालाई प्राथमिकता दिएर देशको पैसा देशमै लागोस् भन्ने नीति लागू गर्ने, सुरूमा माहानगरबाट ग्यास सिलिन्डर हटाउन थाल्ने, यसमा दिदैआएको सब्सिडी हटाउँदै त्यसलाई विस्थापन गर्न र उपमहानगर, नगर पालिका हुँदै गाँउपालिकाबाट समेत घटाउँदै लगेर खास अवधी तोकी ग्यास विस्थापन गरिनु पर्छ र पूर्णरूपमा भान्छालाई सस्तो बिजुली र विद्युतीय चुलो सहज ढंगले उपलब्ध गराएर आफ्नो हातमा लिनु पर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।