ताजा अपडेट »

तिहारमा झण्डै ८० करोडको झिलिमिली बत्ति आयात

सोमबार, ०४ कार्तिक २०७६, १६ : ११
34 Shares

कार्तिक ४,

काठमाडौं । उज्यालोको चाड तिहारको आगमनसँगै झिलीमिली बत्तिको चर्चा हुने गर्छ । पहिले–पहिलो माटोको दीयो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजोआज  विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । जसका कारण विद्युतीय बत्तिले परम्परागत बत्तिलाई विस्थापित गर्दै आइरहेको छ ।  तिहारकै लागि भनेर विभिन्न खालका दीयो, मालाबत्ती लगायत झण्डै करिब ८० करोड रुपैयाँको विद्युतीय झिलीमिली बत्ति विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको अनुमान छ । 

माटोका पाला, मैनबत्ती, दीयो आदीबाट गाउँशहर झिलिमिली बनाउने परम्परागत चलनलाई आधुनिकतासँगै विस्थापित गरेको छ । अझ् पछिल्लो समयमा  नेपालमा लोडसेडिङको समस्या हटेपछि त्यस्ता सामग्रीप्रतिको आकर्षण बढेको व्यवसायीहरुको भनाइ छ । बढ्दो विद्युतीय झिलीमिली बत्तिको प्रयोगका कारण विद्युत् खपत पनि उच्च हुँदै आएको छ । यस वर्षको लक्ष्मी पूजाको दिन नेपाल विद्युत् प्राधिकरणले १२५० मेगावाट विद्युत खपत हुने अनुमानसहित आपूर्ति व्यवस्थापन मिलाएको छ । प्राधिकरणले उपभोक्ताले यसपटक ढुक्क भएर झिलीमिली बत्ति बालेर तिहारमा रमाइलो गर्न सक्ने जनाएको छ । पछिल्ला वर्षमा विद्युतीय झिलीमिली बत्ति र विद्युतीय तस्वीरको माग बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।  नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेलले यसवर्ष त्यस्ता सामग्री करिब ८० करोड रुपैयाँको आयात भएको जानकारी दिए । 

तिहारको लागि ल्याइएको विद्युतीय बत्ती लक्ष्मी पूजाको दिनसम्म बिक्री गरिसक्नुपर्ने भन्दै त्यसपछि प्याक गरेर अर्को वर्षका लागि राखिने व्यवसायीले बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघले यसपटक उपभोक्ताले विद्युतीय बत्ति गत वर्षभन्दा महँगो नहुने दाबी गरेको छ । गत वर्ष डलरको मूल्य बढेको, भन्सारदर बढेको जस्ता कारण देखाउँदै बत्तिको मूल्य बढाएका व्यवसायीहरु यसपटक मूल्य नबढ्ने दाबी गर्छन् । महासंघले मूल्य धेरै नबढेको भने पनि व्यवसायीले भने मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका गुनासो छ । सरकारको अनुगमन प्रभावकारी नहँुदा पनि उपभोक्ता मारमा परेका हुन् । यस वर्ष दीयो २० वटाको मूल्य बढीमा २०० रुपैयाँसम्म कायम गर्ने भएको छ । यद्यपि, गुणस्तरअनुसार मूल्यमा फरक हुने भएकाले सो अनुसार मूल्यमा फरक पर्न सक्ने खरेलको तर्क छ । उता तिहारको बेला बढी बिक्री हुने लक्ष्मी, गणेशलगायत देवताको तस्वीर  बत्तिसमेत रहेकोको  मूल्य ३ सयदेखि ११ सय रुपैयाँसम्म मूल्य पर्ने व्यवसायी बताउँछन्  । - आर्थिकन्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।