ताजा अपडेट »

१८ औँ नाम सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अजरबैजान जाँदै

सोमबार, ०४ कार्तिक २०७६, १० : ५०
4 Shares

कार्तिक ४,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरुका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुको १८ औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आइतबार जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शनिबार नाम शिखर सम्मेलन अन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि नामका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नेछन् ।प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कनेछ ।- राजधानी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।