ताजा अपडेट »

बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई थप पौने २ करोड पेश्की

सोमबार, ०५ पुस २०७८, १५ : ११
4 Shares

बुटवल । समयमै निर्माण कार्य नसकेर बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक अलपत्र पारेका ठेकेदार कम्पनीला थप पौने २ करोड पेश्की दिइएको छ । पेश्की रकम लगेर पनि समयमा काम नगरेको भन्दै आलोचना हुँदै आएको समयमा सडक डिभिजन कार्यालय बुटवलले थप १ करोड ८८ लाख बराबरको पेश्की रकम उपलब्ध गराएको हो ।

बिल भौचर सहित कामको भुक्तानी पाउ भन्दै आफ्ना प्रतिनिधी मार्फत निबेदन दिएका निर्माण ब्यवसायीलाई भुक्तानी दिइएको सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । यसअघि मोभिलाईजेसन पेश्की र उनले पेश गरेको बिलका आधारमा कार्यालयले करीव ९ करोड भुक्तानी दिई सकेको छ । काम नगरेर सडक लथालिङ अवस्था बनाएर छोडेका द कञ्चनजंगा बिरुवा जेभीका प्रतिनिधी प्रविण मिश्रले सोमवार १ करोड ८८ लाख भुक्तानी लिएका हुन् ।

पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गर्दै आएका निर्माण ब्यवसायीले सडक बिभागले भिओ स्वीकृत गरेको समाचार सार्वजनिक भएकै भोलिपल्ट बिल भौचर पेश गरेर भुक्तानी लगेका हुन । ‘निर्माण ब्यवसायीका प्रतिनिधीले अब काम निरन्तर अगाडी बढाउछौं भनेर प्रतिबद्धता सहित भुक्तानीका लागि निवेदन पेश गर्नु भएको थियो । त्यो प्रतिवद्धतालाई आधार मानेर भुक्तानी दिएका हौं ।’–डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मरासिनीले भने ।

उक्त रकम द कञ्चनजंगा बिरुवा जेभीले निर्माणको जिम्मा लिएको बुटवल मिलनचोक सडक छेउछाउमा निर्माण गरिएको नाली र खानेपानी पाईप बिस्तार बापतको रकम हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयमै उपस्थीत गराएर निर्माण कार्य तत्काल सुरु गर्ने कागज समेत गरेका निर्माण ब्यवसायीले कुनै वास्ता नगरेपछि कार्बाही गर्न चौतर्फी दबाव परेको थियो ।

२०७४ साल चैत ३० गते कुल ४७ करोड २७ लाख ८ हजार २ सय ८७ रुपैयाँ लागतमा सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ०७४ साल र ०७७ सालमा गरी दुईपटक मोभिलाईजेसन भन्दै ८ करोड २६ लाख रुपैयाँ लगिसकेको छ ।

पाँच वर्ष अघि ठेक्का सम्झौता गरिएको सडकको तेश्रो पटक थप गरिएको सम्झौता मिति आगामी असार मसान्तसम्म मात्रै रहेको छ । मरासिनीका अनुसार ठेकेदार कम्पनीसंगै केहि स्थानीयवाशीको अवरोध र सुरुमा गरिएको गलत डिजाईनका कारण सडकको अहिलेको अवस्था निम्तिएको हो । उनका अनुसार २०७३ सालमा सडकको डिजाईन गर्दा नाली नसमेटिएको र अहिले बल्ल नाली थप गरिएको थियो ।

बुटवल तर्फको सडक सँगै सोही कम्पनीकै सन्चालक सुवित श्रेष्ठको नाममा रहेको विरुवा कन्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको भैरहवातर्फ बेलहियादेखि बाईपास सम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।