ताजा अपडेट »

सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा

आइतबार, ०३ कार्तिक २०७६, १७ : ३०
4 Shares

कार्तिक ३,
काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पार्वत गुरुङलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले ३५ दिनभित्र बयानका लागि उपस्थित हुन पत्र काटिएपछि गुरुङ आइतबार जिल्ला अदालतमा उपस्थित भएका थिए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।सांसद गुरुङ आफै आइतबार अदालतमा उपस्थित भई बयान दिएका थिए। उनको बयानपछि आइतबार नै बहस भएको थियो।काठमाडौँ जिल्ला अदालतले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दिएको आदेशका आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाले असोज ८ गते गुरुङलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन जानकारी दिएको पत्र पठाएको थियो।

के थियो घटना?

स्थानीय तहको निर्वाचनका बेला तत्कालीन एमालेका कार्यकर्ता कुलबहादुर तामाङको हत्या भयो। हत्याको अभियोगमा तत्कालीन माओवादीका नेता विशाल खड्का, वीरध्वज खड्कासहित ४० जनाविरुद्ध तामाङका आफन्तले किटानी जाहेरी दिए। मुद्दाको अनुसन्धान प्रक्रिया अघि बढिरहेकै बेला काठमाडौंको चावहिलमा तत्कालीन माओवादीका जिल्ला नेता वीरध्वज खड्कालाई पार्वत गुरुङको निर्देशनमा तत्कालीन एमाले कार्यकर्ताले निर्घात कुटपिट गरेको अभियोग उनीमाथि लागेको छ।

को हुन् गुरुङ?

प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका तर्फबाट तत्कालीन नेकपा एमाले नेता पार्वत गुरुङ दोलखाबाट विजयी भएका हुन्। गुरुङ एमालेका केन्द्रीय सदस्य हुन्।गौरीशंकर गाउँपालिका–२ घर भएका गुरुङले अनेरास्ववियुको हुँदै एमालेबाट राजनीतिक यात्रा अघि बढाएका हुन्।२०७० मा पनि दोलखा १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र माओवादीले जितेपछि तत्कालीन दुई वामपार्टीबीच तिक्तता बढेको थियो। तर, दुई पार्टीको एकतापछि यी मुद्दाको समाधान विषयमा पनि छलफल भएको तत्कालीन एमालेका एक जिल्ला नेताले बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।