ताजा अपडेट »

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च

बुधबार, १६ माघ २०७५, ०८ : ०२
6 Shares

माघ १६,

चितवन । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए ।

तीन महिनाको अवधिमा ३ पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो । मंसिरमा ७५ रुपैयाँ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महिनामा १५० बढाइएको पुरीले बताए । तीन महिनाको अवधिमा प्रतिबोरा ३७५ रुपैयाँले दानाको मूल्य बढेको उनले जानकारी दिए ।

प्रतिकेजी १४ मा पाइने मकै तीन महिनाको अवधिमा बढेर ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो ६५ पुगेको छ । कुखुराको दाना बनाउन मकै, भटमास पिना लगायतको कच्चापदार्थ आवश्यक हुन्छ । भटमासको पिना शतप्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । मकै, भटमास मात्र वार्षिक २५ अर्बको आयात हुने गरेको दाना उद्योग संघले जानकारी दिएको छ ।

ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा १५० बढेर ३ हजार १२५ पुगेको छ । यस्तै बिबान दाना २ हजार ८७५ बाट बढेर ३ हजार २५ पुगेको छ भने बिटु दाना २ हजार ८२५ बाट बढेर २ हजार ९७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।