ताजा अपडेट »

कति उदार छ हाम्रो ‘यौन’ जीवन ?

शनिबार, ०२ कार्तिक २०७६, १३ : ३८
8 Shares

कुनै पनि मानिस जीवनमा एकपटक यो अवस्थाबाट पक्कै गुज्रिएको हुन्छ–उसलाई पहिलो ‘सेक्स पार्टनर’ जोसुकै भए पनि फरक पर्दैन। पहिलो यौन अनुभवका लागि बिछ्यौना तताउन मात्र पाए पुग्छ। यौनानन्दका लागि पार्टनरको व्यक्तिगत परिचयको आवश्यकतासम्म रहँदैन।सन् २००३ मा इन्डिया टुडेले गरेको सेक्स सर्वेक्षणको सार हो यो । यौन भन्नेबित्तिकै हामी खुलेर कुरा गर्दैनौं। अझ यौन जीवनबारे त झनै बोल्दैनौं। कतिपय अवस्थामा यौनलाई एकखाले गोपनियताभित्रको विषय मान्छौं। यदि त्यसो हो भने यसको लाइन अफ कन्ट्रोल आफैंभित्र छ। तर, व्यक्तिगत जीवनमा अपवादबाहेक जोकोहीको यौनजीवन रंगीन हुन्छ।

यो प्राकृतिक व्यवस्थालाई हामी विवाहका माध्यमबाट व्यवस्थित गर्छौं। कतिपय अवस्थामा हामी यौन क्रियाकलापकै कारण व्यक्तिको चरित्रमाथि शंका गर्छौं।शंका मात्रै होइन, यौनजीवनलाई सही व्यवस्थापन गर्न नसक्दा समाजमा त्यसले अपराधको रुप धारण गर्दछ। राज्यको कानुनले यौनलाई केही शर्तका माध्यमले नियन्त्रण गर्दछ। यौनक्रियाका केही अवस्था अपराध मानिन्छन्। त्यसका उदाहरण अनगिन्ती छन्। भारतीय रंगनिर्देशक महेश दत्तानीले भनेका छन्– पुरुषले अहिलेसम्म आफ्नो मानसिक ‘जी स्पट’ भेटाउन सकेको छैन, महिलाको ‘जी स्पट’ भेटिने दाबी गर्छन्।’ बडो घतलाग्दो कुरा भनेका छन् उनले। महिला होस् या पुरुष, दुवैका लागि सेक्स प्राकृतिक विषय हो। फरक के भने पुरुष अलि हिंस्रक तरिकाले यौन भावना देखाउँछन् भने महिला त्यसको तुलनामा निकै संवेदनशील हुन्छन्। यौन जीवनका कारण कहिलेकाहीँ विश्व नै तरंगित हुने गर्दछ। यौन सबै मानिसभित्र रहने चाहना हो। समाजमा यस्को व्यवस्थापन गर्ने तरिका व्यक्ति–व्यक्तिमा फरक हुन्छ। पछिल्लो दशक यौनजन्य हिंसा र अपराधका शृखंला बढ्दो क्रममा रहेका विभिन्न अनौपचारिक अध्ययनले देखाएका छन्।

यौनका विषयमा विभिन्न धर्म सम्प्रदायमा फरक–फरक अवधारणा छ, तर कसैले पनि यसलाई सुरुआती चरणमा इन्कार गरेका छैनन्। अपवादमा साधना र अन्य विधिले आफूभित्रको यौन चाहना नियन्त्रण गर्ने विषय भने फरक पाटो हो, त्यसमा कति चाहिँ ढोगी छन्। हाम्रो समाजमा सेक्सकै कारण अपराधी बनिरहेका अनुहार अब गन्नै नसक्ने अवस्थामा पुगिसकेका छन्। दिनदिनै यौनजन्य हिंसा बलात्कार र जबरजस्ती करणीका समाचार हामीले नचाहेर पनि सुन्नैपर्ने अवस्था आइसकेको छ। नेपालमा यौनजीवनबारे गरिएका अनुसन्धान र सर्वेक्षणको तथ्यांक पाउनै मुस्किल छ। दक्षिण एसिया त्यसमा पनि भारतमा यो विषयमा विभिन्न माध्यमबाट औपचारिक सर्वेक्षण हुने गरेका छन्। मैले यौनजीवन र सेक्सबारे लेख्न खोज्नु कुनै नौलो विषय त होइन, तर समाजमा यसको दूरगामी प्रभाव के छ भन्ने हो। तपाईं हामी अधिकांशले कामसूत्रमा उल्लेख भएका तीन सयभन्दा बढी यौनक्रियामध्ये कति त दैनिक जीवनमा प्रयोग गरिरहेका हौंला। कामसूत्रका पद्घति कतिपय जोडीका लागि दैनिक खुराक पनि होलान् अनि कतिपयलाई हरेक पटक ‘इन्टरकोर्स’गर्दा नयाँ तरिका प्रयोग गर्ने बानी परेको हुनसक्छ।

वर्षभरि नै फरकफरक तरिकाले यौन सम्पर्क गर्नसक्ने तरिका कामसूत्रले दिएको छ। तर, हामी यी विषयमा खुलेर चर्चा गर्न सक्दैनौं किनकि हामी यस्ता विषयलाई सामाजिक परम्पराविरुद्ध ठान्छौं।इन्डिया टुडेले केही वर्षअघि सुरु गरेको सेक्स सर्वेक्षणका तथ्यांकले यौन जीवनबारे एकपटक साेंच्न बाध्य तुल्याउनेछ हाम्रो समाजलाई। हुन त यो भारतमा गरिएको सर्वेक्षण हो। तर पनि हाम्रा सामाजिक, धार्मिक र सांस्कृतिक मान्यतासहितका अधिकांश परम्परा मिल्दाजुल्दा छन्। नेपालमा नागरिक तहमा यसखाले सर्वेक्षण भएको कमसेकम मलाई चाहिँ थाहा छैन। त्यसैले इन्डिया टुडेको यो यौन जीवन बुझ्ने प्रयासझैं नेपालमा पनि सर्वेक्षण सुरु गर्दा समाजको यौन जीवनबारे स्पष्ट हुनसक्ने थियो भन्ने मेरो जिज्ञासा मात्रै हो। हरेक तीनजना भारतीयमध्ये एकजना त्यस्तो कोटीमा पर्छन्, जो अन्जान व्यक्तिसँग एक रात बिताउनु कुनै गल्ती होइन भन्ने ठान्छन्। नेपालमा यो अवस्था हो कि होइन हामी केवल यतिबेला अनुमान मात्रै गर्न सक्छौं, सायद कुनै तथ्य वा सर्वेक्षण हामीसँग छ जस्तो लाग्दैन।

झन्डै पाँच हजार वर्ष पुरानो मानिने भारत आसपासको दक्षिण एशियाली क्षेत्र, जहाँ प्रेम, यौन, विवाह र सम्बन्धका बारेमा परम्परागत र धार्मिक दृष्टिकोण आआफ्नै खालका छन्। भारतका दस शहरमा केही वर्षपहिले गरिएको सर्वेक्षणको एउटा शिर्षक थियो, ‘कामकी कहानी’ जसलाई इन्डिया टुडेले सर्वेक्षणको पहिलो शीर्षक बनाएको थियो। त्यसयता इन्डिया टुडेले लगातार प्रत्येक वर्षजसो सेक्स सर्वेक्षण गर्दै आइरहेको छ। हामीकहाँ औपचारिक रूपमा कुनै फोरममा यौनबारे बहस पाइँदैन, त्यसैले परिवर्तित सन्दर्भसँगै हामी समाजको मनोविज्ञान बुझ्न सकिरहेका छैनौं। सन् २००३ को पहिलो सर्वेक्षणमा सहभागी भएका २ हजार ३ सय ५ भारतीयमध्ये २५ प्रतिशतले त यौनसँग मतलव नै नभएको गजबको प्रतिक्रिया दिएका थिए। भारतीय पत्रकार शेफाली वासुदेव लेख्छिन्–यदि आधुनिक स्त्री आफ्नो यौन जीवनबारे साँचो कुराको विपक्षमा बोल्छिन् भने त्यहाँ शंका गर्न सकिन्छ कि ती महिला कठपुतली मात्रै भएर बाँचिरहेकी हुन्छिन। सर्वेक्षणको उक्त पहिलो अकं प्रकाशित गरेसँगै कडा आलोचना र धम्कीसमेत खेपेका इन्डिया टुडेका सम्पादक अरुण पुरी लेख्छन्–हरेकको जीवनमा गोपनीयता छ, त्यसैले उनीहरू यौनबारे बोल्न चाहँदैनन।’

तर, रमाइलो पक्ष के भने त्यति धम्की र आलोचनाका बाबजुद पनि सबैभन्दा बढी त्यही अंक बिक्री भयो। यसले के प्रमाणित गर्छ भने महिला वा पुरुष एक्लै हुँदा वा गोपनीयता रहँदा यौनबारे निकै उत्साही र जिज्ञासु रहन्छ। तर, त्यही व्यक्ति सार्वजनिक रूपमा उच्चकोटीको आदर्शवादी हुँ भन्ने देखाउन पछि पर्दैन। कुरा यहीँ बाझिन्छ, यदि यौन जीवनबारे स्पष्ट हुन सक्ने हो भने समाजमा यो तहको यौनजन्य घटना वा अपराध हुँदैन थियो कि? जुन अहिले भइरहेका छन्।समाजमा तपार्इं हाम्रै वरपर विवाह र सम्बन्धमा परिरहेका दरार अनि विवाहपछि अन्य व्यक्तिसँगको यौन सम्बन्धले अहिलेको समाज जोडतोडले दिनप्रतिदिन साक्षात्कार हुँदै गइरहेको छ। पत्रपत्रिका,अनलाइन, रेडियो र टेलिभिजन समग्रमा डिजिटल मिडियाका संस्करणमा विशेष सामग्रीका नाममा सबैभन्दा बढी प्रकाशन वा प्रसारण हुने विषय पनि सायद यौन सम्बन्धी नै हुन्छन्। मैले माथि जोडेको भारतको प्रसंगले हाम्रो समाजलाई हुबहु त प्रतिनिधित्व नगर्ला, तर कुनै न कुनै रूपमा यस्का प्रभाव र असरबाट हामी पनि धेरै टाढा भने पक्कै छैनौं।

माथि उल्लेख गरेको विषय महिलामाथि गरिएको सन् २००३ को प्रसंग हो भने सन् २००४ मा ‘मर्दका मन क्या मागे’ शीर्षकको सर्वेक्षण पनि भएको थियो। उक्त सर्वेक्षणमा सहभागी भएका ७२ प्रतिशत पुरुषले आफ्नी श्रीमतीको कुमारीत्व पत्ता लगाउन खोजेको अवस्थामा देखियो।१८ देखि ५५ वर्ष उमेर समूहका करिब ३० हजार पुरुषमाथि उक्त सर्वेक्षण गरिएको थियो। त्यस पछिको सन् २००५ को सर्वेक्षणमा विवाहपूर्वको सेक्सका विषयमा भारतीयको धारणा बुझिएको थियो। यस्ता सर्वेक्षणले हाम्रो समाजको यौनप्रतिको जागरुकता वा पाखण्डतालाई केही हदसम्म सम्बोधन गर्दै व्यवस्थापनका लागि सहज अवस्था निर्माण गर्न सक्छ। ‘अकेली औरतका नयाँ काम’ शीर्षकको अर्को सर्वेक्षणले भारतमा के देखायो भने महिलाको यौन इच्छालाई पुरुषले बुझन नसक्दा ती महिला परपुरुषसँग यौनसम्बन्ध राख्न बाध्य हुन्छन्। भारतका ११ सहरका २ हजार ३ सय ५ जना महिलामाथि यस्तो सर्वेक्षण गरिएको थियो। यो अवस्थाले त्यहाँको समाज अनि यौन जीवनका विषयमा जिम्मेवार रहन र सजग रहन मद्दत मिलेको अनुभव गरिरहेका छन्। हामी पनि आफ्नो यौन जीवनबारे सहज कुराकानी गरेर त्यसलाई व्यवस्थित गर्नसक्ने वा नसक्ने भन्ने अवस्थाबाट नै गुज्रिरहेका छौं।

उच्च ओहोदामा बसेकाहरू संसारभर यौनकाण्डमा फसेका थुप्रै उदाहरण छन्। कतै प्रमाणित भए, कतै दबाइए त, कतै आरोपमै सीमित रहे। सिल्भियो बुर्लस्कोनी, इदि आमिन, मुअमर अलि गद्दाफी, किम जोंग इल, उदय हुस्सैनी, माओत्से तुंग, बिल क्लिन्टन र मुसो काट्सभ सेक्स स्क्याण्डलका गतिला उदाहरणीय पात्र हुन्। यी सँगसँगै उत्तिकै संख्यामा उनका महिला पार्टनर पनि छन्। यता समाजलाई नेतृत्व गर्ने नेपालको राजनीतिक वृत्तमा पनि पटकपटक यौनकाण्ड आइरहन्छन्। तर, घटना ढाकछोप र उन्मुक्ति दिने बाटोबाट गुज्रिरन्छन्। यस्ता घटना हरेक दिनजसो समाजमा भइरहेका हुन्छन् होला, कति बाहिर आउँछन भने कति भित्रभित्रै सेलाउँछन् होला। तर, मुख्य कुरा के भने हामी यौन जीवनका बारेमा कति सभ्य भएर प्रस्तुत हुन सकिरहेका छौं भन्ने नै हो। यसै प्रसंगमा भारतमा भएको सन् २००७ को सेक्स सर्वेक्षणमा घरमा श्रीमती भए पनि पुरुषले अन्य महिलासँगको सेक्समा रुचि देखाएको पाइएको थियो। सन् २००८ को अर्को सेक्स सर्वेक्षणमा पोर्नग्राफी हेर्नेको संख्यामा भारी वृद्धि भएको देखाउँछ। लगत्तै सन् २००९ को सेक्स सर्वेक्षणले भारतमा फेन्टासी र रोमान्सका रूपमा सेक्स गरिने प्रचलन बढेको पाइएको छ। अर्थात् अब यौनक्रिया दैनिक जीवनमा सहज हुँदै गइरहेको अवस्था देखाउँछ।

तर, सन् २०१० को अर्को सर्वेक्षणमा भारतीय महिलाले पुरुष पार्टनरले उनीहरूको यौन चाहनालाई बेवास्ता गरेको अभिव्यक्ति दिएका छन्। ती महिला पनि अर्को पुरुष पार्टनर खोज्ने परिस्थितिमा रहेको देखियो।सर्वेक्षणमा सहभागीमध्ये ४४ प्रतिशत महिला त्यस्तो गर्न बाध्य भएको देखियो। सन् २०११ मा गरिएको सर्वेक्षणमा ४९ प्रतिशत महिला आफ्ना श्रीमानसँग यौनसम्पर्क गर्न मन नलाग्दा टाउको दुखिरहेको भन्दै अलग्गै सुत्ने गरेका पाइयो।सन् २०१२ को सेक्स सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले त सेक्सलाई भावनासँग अलग राख्नुपर्ने धारणा अघि सारेका थिए। ‘मन मागे मोर’ शीर्षकको सन् २०१३को रिर्पोटमा महिला खुलेर यौन चाहना व्यक्त गर्नसक्ने भइसकेको देखाउँछ। त्यही विषयमा भारतीय चर्चित स्तम्भकार लेखीका इरा राजा लेख्छिन-महिला गाउँका हुन् वा साना/ठूला सहरका अब उनीहरू आफ्नो यौन चाहनालाई मन खोलेर बताउन सक्ने भइसकेका छन्। यसरी भारतमा यौन जीवनमा आइरहेको परिवर्तनका श्रृखंलाले नेपालजस्ता छिमेकी मुलुकमा पनि यसखालका विषयको प्रभाव धेरथोर होला नै। अझै पछिल्लो समय त महिला तथा पुरुष आफ्ना जोकोही साथीहरूसँग आपसी सहमति वा दबाब र प्रभावमा यौनजीवन बिताइरहेका हुनसक्ने सर्वेक्षणहरूले देखाएका छन्।

भारतकै सर्वेक्षणलाई हेर्ने हो भने पनि करिब १६ प्रतिशत व्यक्ति आफ्ना सहकर्मीसँग यौनसम्बन्ध बनाइरहेको स्विीकार गर्छन्। सन् २०१४ र २०१५ को सर्वेक्षणमा त अवस्था यस्तो पनि देखिएको छ कि २५ प्रतिशत किशोरकिशोरी विद्यालय तहमै यौनसम्पर्क गरिसकेका हुन्छन्।अझैं यौनलाई विवाहसँग जोडेर गरिएको सन् २०१६को सर्वेक्षणले त झनै विवाहमा केवल धन पैसा मात्रै मुख्य विषयका रुपमा लिइनुले आधुनिक विवाहले दम्पतीका बीचमा विश्वासको खाडल बढाएको छ। इन्टरनेटको प्रयोगका कारण यौन जीवन प्रभावित भएको स्विकार्नेको संख्या भारतीय सर्वेक्षणमा ४२ प्रतिशत छ। यौन जीवनबारे पश्चिमा मुलुकको परिस्थिति, परम्परा भने बेग्लै अवस्थाको रहँदै आएको छ।यदि इन्डिया टुडेले गरेकै सेक्स सर्वेक्षणलाई फेरि आधार मान्ने हो भने सन् २०१७ को रिर्पोटले त्यहाँ यौन जीवनको चाहना, अवस्था र परम्परा तोड्दै आएको देखाउँछ। झन्डै एक हजार यौन–जीवनसम्बन्धी प्रश्न समावेश गरी करिब ५० हजार भारतीयमा १५ वर्ष अवधिमा गरिएको सेक्स सर्वेक्षणमा यौनजीवनमा आएको यो परिवर्तन कतै समाजका लागि चुनौती त होइन भन्ने प्रश्न उठ्छ।यसरी सेक्सको चाहना र यसको उचित व्यवस्थापन हुन नसक्ने हो भने यो क्षेत्रमा यौनजन्य अपराधका शृंखला घट्लान भन्न सकिने अवस्था छैन। - बसन्तकुमार उपाध्याय / नेपालन्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।