ताजा अपडेट »

रुपन्देहीका एक युवाले दिए बुवालाई कलेजो

शनिबार, ०२ कार्तिक २०७६, १३ : २५
4 Shares

कार्तिक २,

ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीका एक युवाले आफ्ना बुवाका लागि कलेजो दान गरेका छन् । तिलोत्तमा नगरपलिका वडा नम्बर १४ तिनधुरा गाउँ निवासी २७ बर्षीय एक छोराले आफ्नै बुवालाई कलेजो दान गरेका छन् । काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले तेस्रो पटक सफल रुपमा उनीहरुको कलेजो प्रत्यारोपण गरेको हो । शुक्रबार बेलुकी ५० वर्षका बुवालाई उनका छोराको कलेजो प्रत्यारोपण गरिएको प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीले जानकारी दिए । यसअघि जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको शिक्षण अस्पतालले शुक्रबार तेस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो ।

अब कलेजो प्रत्यारोपण बिस्तारै नियमित बनाउने योजना रहेको उनले बताए । नेपालमा २५ लाख रुपैयाँको हाराहारीमा कलेजो प्रत्यारोपण गर्न सकिने डाक्टर भण्डारीको भनाइ छ । यस्तै परिवारभित्रकै नजिकैको व्यक्तिले मात्र कलेजो दान गर्न सक्नेछन् । उनका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिनेछ । कलेजो दान गर्ने व्यक्तिको शरीरमा बोसो जमेको हुन नहुने तथा कलेजो लिने व्यक्तिसँग रक्त समूह पनि मिलेको हुनुपर्ने उनले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालमै कलेजोको सफल प्रत्यारोपणपछि अब बिरामीलाई भारत जानुपर्ने बाध्यता हट्ने डाक्टर भण्डारीले बताए । यसअघि भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । केही समयअघि मात्रै चितवनको पुरानो मेडिकल कलेजले पनि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति पाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।