ताजा अपडेट »

‘सहयोगापेक्षी सडक मानवमुक्त बुटवल’का सडकमा बेवारिसे शव !

बुधबार, २२ मंसिर २०७८, १६ : २९
24 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ मझुवामा बुधबार बिहान एक पुरुष मृत अवस्थामा फेला परे । लामो समयदेखि सडकका पेटिमा रात विताउँदै आएका ५० वर्षका ती पुरुष मझुवामा अवस्थित खाली रहेको घरको पेटीमा फेला परेका हुन् ।

यसरी बुटवलमा बेवारिसे अवस्थामा कुनै व्यक्तिले ज्यान गुमाएको यो घटना पहिलो भने होइन । २ वर्ष अघि सहयोगापेक्षि सडक मानव मुक्त घोषा गरिएको शहरका गल्लीहरुमै बेसाहराहरुले ज्यान गुमाउने घटनाले चुनौती थपिएको छ । २०७६ साल पौष ५ गते भब्य समारोहको आयोजना गरि तामझामका साथ सडक मानवमुक्त घोषणा गरिएको बुटवलमा पछिल्लो ८ महिनाको अवधिमा मात्रै करिब दर्जन बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय बुटवलले उपलब्ध गराएको तथ्याङ्क अनुसार गएको कार्तिक ३ गते बुटवल–९ इट्टाभट्टिमा करिब ४५ वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका थिए । लुम्बिनी प्रादेशिक अस्पतालको आडमै यसरी ती पुरुषले उपचार नपाएर ज्यान गुमाएका थिए । यस्तै असोज ३० गते बुटवल–२ मणिमुकुन्दसेन (फुलबारी) गेट नजिकै अन्दाजी ५० वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । त्यस्तै असोजकै २६ गते बुटवल–१० अभियान पथमा अन्दाजी ४० वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । बुटवल–८ रामनगरमा अन्दाजी ४५ वर्षका पुरुष मृत अवस्था भेटिएको थियो भने भदौ २० गते बुटवल–५ हाटबजार क्षेत्रमा अन्दाजी ६० वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । यहाँ उल्लेख गरिएका केही प्रतिनिधि घटना मात्रै हुन् । हरेक महिनाजसो यसरी बुटवलका विभिन्न बजार क्षेत्रमा बेवारिसे सवहरु भेटिनुले उमहानगरको सडक मानव मुक्त घोषणाको कार्यान्वयनप्रति प्रश्न उब्जाएको छ ।

सकडमा कसैले पनि जीवन बिताउन पर्दैन र खान नपाएर बुटवलका सडक पेटीमा कसैको पनि ज्यान जाने छैन् भन्ने प्रतिबद्धताका साथ बुटवल उपमहानगरपालिकालाई सडक मावन मुक्त घोषणा गरिएको थियो । सडक पेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मानव सेवा आश्रमको संयुक्त प्रयासबाट बुटवललाई सडक मानवमुक्त उपमहानगर गरिएको भए पनि कार्यान्वयनमा भने समस्या देखिएको छ ।

उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलमा कोही पनि नागरिक गाँस, बास र कपासका लागि भौतारिने र सडकमा रात बिताउनु पर्ने अवस्था नरहने घोषणा गरे पनि उक्त भनाई घोषणामै सीमित देखिएको छ । सडक मानवमुक्त घोषणा कार्यक्रममा हालका मुख्यमन्त्री तथा तत्कालिन आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रमुख अतिथि भएर प्रतिवद्धता जनाएका थिए ।

कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानको घोषणा गरेका उनी मुख्यमन्त्री भएर आउँदा पनि अवस्था भने उस्तै देखिन्छ । मुख्यमन्त्री केसीले प्रदेशललाई सडक मानव मुक्त गर्ने योजना समेत ल्याएको देखिँदैन । तत्कालिन उद्योग पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले लुम्बिनी प्रदेशलाई नै मागेर खान नपाइने क्षेत्र बनाइने दाबी गरे पनि बुटवलका सडकहरुमा हात थापेर हिड्ने व्यक्तिहरु यत्रतत्र भेट्न सकिन्छ ।

आगामी २०८२ सालभित्र नेपालमा सडकआश्रित मानवमुक्त बनाउने मानव सेवा आश्रमको योजनालाई बुटवलको यो घटनाले चुनौती दिएको छ । अबको चार वर्षभित्र सडकमा बेवारिसे अवस्थामा जीवन बिताइरहेका नागरिकलाई सहारा दिने प्रतिबद्धता गरेको अभियान नारामै सीमित हुने हो कि भन्ने शंका उत्पन्न भएको छ । आश्रमका संस्थापक रामजी अधिकारीले अबको चार वर्षभित्र सडकआश्रित मानवमुक्त नेपाल बनाउने उद्देश्य अनुरूप आफूहरू अघि बढिरहेको बताउने गरेका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।