ताजा अपडेट »

भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन

बुधबार, २२ मंसिर २०७८, १४ : ३९
6 Shares

सुर्खेत । भनिन्छ  विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षाविनाकाे मानिस 'अन्धो' कहलाउँछ । शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ । तर, कर्णालीकाे विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलाे विद्याालय अभावमा अन्धकारमा बाचिरहेका छन् ।  

यहाँका कतिपय स्थानमा विद्यालय भवन अभावले विद्यार्थीहरू चौरमा बस्न बाध्य छन् । कही बालबालिकाले शिक्षकको मुख नै देख्न पाउँदैनन् । अझ भनौँ दुर दराजका विद्यार्थी त्यो अन्धकारबाट बाहिर निस्कन सकेको छैनन् । ज्ञानकाे ज्याेतिमार्फत बाहिरी दुनियाँमा रमाउन खोजे पनि उनीहरूलाई पढ्न सक्ने वातावरण उपलब्ध छैन । यही कारण कतिपयले बिचैमा पढ्न छोड्छन् । विद्यार्थीलाई पढ्नको लागि जुन वातावरण हुनुपर्थ्याे त्यो नहुँदा बिचैमा पढाइ छोड्ने विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ । यसकाे प्रतिनिधिमुलक उदहारण हाे दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-५ बस्ताकोटस्थित जनता माध्यामिक विद्यालय । 

त्यहाँ न त विद्यालय भवन छ न त पढ्ने वातावरण नै छ । २०४० सालमा स्थानीय स्रोतसाधनबाट निर्माण भएको याे विद्यालयको भवन भति्कदा न त नयाँ भवन निर्माण भयो, न भत्केको भवन पुनःनिर्माण हुन सकेकाे छ । स्थापनाकालदेखि अहिलेसम्म भवन बनाउने योजना नपरेको सोही विद्यालयमा अध्यापन गराउँदै आएको शिक्षक रामशरण रेग्मी बताउँछन् । 'भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्याै तर केही भएन । ८ भदाै ०७८ मा परेको अविरल वर्षाले भवन भत्कियो । अहिलेसम्म पुननिर्माणमा कसैले चासो देखाएका छैनन् । भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ ।’

हावा चले विद्यालय बन्द हुन्छ 

८ भदाै ०७८ मा परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्ध गर्नुपर्ने अवस्था रहेकाे विद्यालयका प्रधनाध्यापक जनक कार्की बताउँछन् । भवन भत्किएको छ हावा चल्यो, पानी पर्याे भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग अरू भवन छैनन् । खुला आकाशमुनि पढाउनु पर्ने बाध्यता छ । हावा लाग्दा पानी पर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन । जसले गर्दा विद्यार्थीको अध्ययन अध्यापनमा प्रत्यक्ष असर परेको छ ।’

राजनीतिक छायाँले विद्यार्थीको भविष्य अन्धकारतिर 

विद्यालय अध्यन अध्यापन गराउने थलो हो । तर, विद्यार्थीलाई अध्यापन गराउनुको साटो विद्यालय राजनीतिको अखडा बनिरहेकाे एक स्थानीयको भनाइ छ । यहाँ शिक्षकभन्दा धेरै राजनीतिक दलका नेता रहेकाे उनी बताउँछन् । ५ नम्बर वडामा कांग्रेसले जितेको वडा हो । नगरपालिकाकाे तेतृत्व एमालेले गरीरहेकाे छ । जसले गर्दा पत्यक्ष रुपमा विद्यालय राजनीति चपेटामा परेको वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद रेग्मी बताउँछन् । 

'भवन निर्माणको लागि पटक पटक नगरपालिका, वडा कार्यालयमा धायाैँ । साेही अनुसार आश्वासन पनि पायाैँ,’  उनले भने, ‘नगरपालिका लगायत सरोकारवालाहरूले हुन्छ हुन्छ मात्रै भने । भवन नहुँदा चौरमै पढाउन बाध्य छौँ ।’ ८ भदाै ०७८ काे अविरल वर्षातले क्षति पुगेको विद्यालय भवन निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन् । 

उनका अनुसार ३८ वर्षअघि स्थापना भएकाे विद्यालयमा अहिलेसम्म भवन निर्माणमा कुनै याेजना परेकाे छैन । 'स्थानीय सरकार आएको चारवर्ष बित्न लाग्यो तर, नगरपालिकाबाट कुनै आशा भएन,’ उनले भने, ‘२०४० सालमा स्थानीय स्रोतसाधनमा भवन निर्माण भयाे तर अहिलेसम्म कसैले सहयोग गरेन । भवनका लागि सबै ठाउँमा हारगुहार गरेपनि कसैले सुनेनन् ।’

जनता माध्यामिक विद्यालयमा दुई सय २४ जना विद्यार्थी छन् । एक जना बालविकास सहजकर्ता, एक जना राहत शिक्षक, एक अस्थाई र चार जना स्थाई शिक्षक रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ । 

विद्यालय भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले प्रदेशमा भवन माग गर्न वडा कार्यालयमा जादा वडाअध्यक्षले सिफारिस गर्न नमानेको उनी बताउँछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।