ताजा अपडेट »

कांग्रेस लुम्बिनी: रुपन्देहीको शून्य सहभागिता !

सोमबार, २० मंसिर २०७८, १२ : ३०
8 Shares

बुटवल । सधैँ राजनीतिको केन्द्रमा रहिरहने जिल्ला हो, रुपन्देही । सबैजसो राजनीतिक दलको माथिल्लो तहमा रुपन्देहीका नेताहरुले प्रतिनिधित्व गर्ने गरेका छन् । रुपन्देहीबाट प्रतिनिधित्व गरेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण अहिले गृहमन्त्री छन् ।
तर, नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीमा भने रुपन्देहीको प्रतिनिधित्व शून्य भएको छ । महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।

देउवा समूहले रुपन्देहीबाट सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत कुमार शाहलाई सभापति र सरिता चौधरीलाई सह–महामन्त्रीको उम्मेदवार बनाएको थियो भने पौडेल समूहले रुपन्देहीबाट लुम्बिनी प्रदेशसभाका सदस्य समेत रहेका अष्टभुजा पाठक उपसभापतिका उम्मेद्वार रहेका थिए । निर्वाचनमा रुपन्देहीका ३ जना पदाधिकारीका उम्मेद्वार बनेका थिए । जुन समूहले जिते पनि रुपन्देहीको पदाधिकारीमा प्रतिनिधित्व हुनेमा सबै रुपन्देहीका नेता कार्यकर्ता ढुक्क थिए । तर, तीनै जनाले पराजय भोगेका छन् ।

महाधिवेशनमा रामचन्द्र पौडेल समूहको प्यानलको वर्चश्व रहे पनि सोही समूहबाट उपसभापतिमा उम्मेदवार बनेका अष्टभुजा पाठक पराजित भए । सभापतिमा भरत कुमार शाहले रोल्पाका पूर्व जिल्ला सभापति समेत रहेका अमरसिहं पुन मगरसँग ८५ मतान्तरले पराजित भए । पुन मगरले ८५२ मत प्राप्त गर्दा रुपन्देहीका शाहले ७६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा दाङका राजु खनालसँग रुपन्देहीका अष्ठभुजा पाठक झिनो मतान्तरले पराजित भए । खनालले ७९२ मत पाउँदा लुम्बिनी प्रदेशसभाका सदस्य समेत रहेका पाठकले ७७२ मत प्राप्त गरे ।

यस्तै सहमहामन्त्रीमा देउवा समूहबाट उम्मेदवार बनेकी सरिता चौधरी प्युठानकी निमा गिरीसँग १४५ मतान्तरले पराजित भइन् । प्युठानकी गिरीले ८३० मत प्राप्त गर्दा रुपन्देहीकी चौधरीले ६८७ मत मात्रै पाउन सफल भइन् ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्दै उपसभापतिमा उम्मेदवार बनेका अष्ठभुजा पाठकले आफूलाई घात गरेर हराइएको बताएका छन् । ‘यो पार्टी भित्रका प्रतिस्पार्धा हो । यसमा म केही पनि भन्न चाहादैन् ।’ग्लोबल आवाजसँग कुराकानी गर्दै पाठकले भने ‘जसले जिते पनि पार्टी भित्रकै साथीहरुले जित्नु भएको छ । तर मलाई पार्टीबाटै घात गरेर हराइएको हो ।’

रुपन्देहीले जिल्लाबाट पदाधिकारीमा कसैको पनि प्रतिधिनित्व नहुँदा दुःख लागेको नेपाली कांगेसका नेता एवम् लुम्बिनी प्रदेशसभाका सांसद फखरुद्धिन खानले बताए । रुपन्देही जिल्ला प्रदेशकै १ नम्बर जिल्ला र रुपन्देहीमा देशभरका लागि चासो हुने बताएकाले पनि पदाधिकारीमा रुपन्देहीबाट केही न केही समेटिनु पर्ने भएता पनि यहाँबाट केही पनि नसमेटिदा दुःख लागेको नेता खानले बताए ।

‘रुपन्देही जिल्ला प्रदेशकै १ नम्बर जिल्ला भएकाले सिङ्गो देशकै आँखा जिल्लामा आउने हुने भएकाले यहाँबाट प्रनिनिधि छनोट हुनु पर्ने थियो । दुबै प्यानलबाट पदाधिकारीमा उम्मेदवार हुनु हुन्थ्यो । एउटा समूहबाट सभापतिमै उम्मेदवार हुनु हुन्थ्यो । अर्को समूहबाट उपसभापति र सहमहामन्त्रीमा उम्मेदवार हुनु हुन्थ्यो ।’ खानले भने ।

साथै निर्वाचनको माध्यबाट अभिमत प्राप्त अभिमतले कार्यकर्ताहरुसंग अझ बढी लिगेसी र सामित्यता हुनु पर्छ भन्ने नेताहरुलाई लेशन दिएको उनले बताए । ‘निर्वाचनको माध्यबाट जुन अभिमत प्राप्त भएको छ । यसले आउने दिनमा अझ बढी कार्यकताहरु माझ संघगठनका गतिविधीहरु, कामहरु, कार्यकर्ताहरुसंग बढी लिगेसी र सामित्यता हुनु पर्छ भन्ने नेताहरुलाई लेशन दिएको छ ।’ उनले भने ।

प्रतिनिधिहरुले आफ्नो विवेक र मताधिकारको प्रयोग गरी आफूलाई योग्य लागेकालाई जिताएकाले प्राप्त परिमाणलाई सहज रुपमा स्वीकार गर्ने खानले बताए । उनले भने ‘महाधिवेशन प्रतिनिधी र प्रदेशप्रतिनिधिहरुले आफ्नो विवेक र मताधिकारको प्रयोग गरी पार्टीलाई आगामी दिनमा अझ बढी चलायमन गराउन पक्कै पनि योग्यलाई जिताउनु नै भएको होला । यसकारण जुन नतिजा आएको छ । यसलाई हामी सहर्ष स्वीकार गर्दछौँ ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।