ताजा अपडेट »

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न माग

सोमबार, २० मंसिर २०७८, १० : २६
10 Shares

राँझा । बाँकेको राप्ती नदीमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीयवासीले माग गरेका छन् । उत्खननले खेतीयोग्य जमिन कटान भई डुबानको जोखिम हुने जनाउँदै राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । जल उपभोक्ता समितिको मूल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टेपरी हुँदै सिधनिया पुलसम्मको क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयवासी चमेली बाकवलले जानकारीदिए ।

उनका अनुसार, राप्तीनदीमा अवैधरुपमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भई बगरमा परिणत हुने र वर्षात्मा बस्तीनै डुबानमा पर्ने जोखिम बढ्दै गएको छ । राप्तीसोनारी–६ फत्तेपुरका स्थानीयवासीले आइतबार जिल्ला प्रशासन कार्यालय बाँकेमा अवैधरुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्ती नदीमा भइरहेको दोहन रोक्न माग गरेको स्थानीयवासी बनिलाल थारुले बताए ।स्थानीयले नदीबाट हुने कटान, पटान र डुबान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनुपर्ने माग पनि गरेका छन् । जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि ठेक्का प्रक्रिया सुरु हुन नसक्दा अवैधरुपमा उत्खनन भई करोडौँ राजस्व गुमेको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि बाँकेका नदीजन्य पदार्थको ठेक्का प्रक्रिया सुरु हुन सकेको छैन । ठेक्का प्रक्रियामा नजाँदा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भई राजस्व गुम्न पुगेको छ । सो अवसरमा प्रजिअ खत्रीले राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि आफ्नोतर्फबाट पहल गर्ने जानकारीदिए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।