ताजा अपडेट »

लुम्बिनीसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि साइकल यात्रा

शुक्रबार, १७ मंसिर २०७८, १७ : ३४
8 Shares

बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नेगरी ‘लुम्बिनी सम्पदा साइकल राइड–२०७८’को आयोजना हुने भएको । ‘हाम्रो सम्पदा, हाम्रो गौरव’–भन्ने मूल नाराका साथ पौष २ र ३ गते साइकल यात्रा हुने भएको हो ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहको विशेष उपस्थितीमा २ दिनसम्म हुने साइकल यात्रामा लुम्बिनी क्षेत्रसँग जोडिएका देवदहर, रामग्राम, कपिलवस्तु, सैनामैना, तिलोत्तमा लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिने भएको हो । कार्यक्रमबारे जानकारी दिन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटीका अध्यक्ष विनोद कार्कीले साे बारे बताएका हुन् । यात्रमा देशभरका १५० बढी साइकल यात्री सहभागी हुने छन् भने उनीहरुलाई बस्ने खाने व्यवस्थाका लागि विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी आयोजकले व्यवस्था गर्ने उनले बताए ।

लुम्बिनी प्रदेशभित्रका विभिन्न जिल्लाबाट ५० तथा अन्य जिल्लाहरुबाट सय बढी यात्रीहरु सहभागी हुने यात्रामा पुरुषहरुका लागि १५०० तथा महिला र बालबालिकाहरुका लागि ११०० सय प्रवेश शुल्क लाग्नेगरी दर्ता सुरु भइसकेको कार्यक्रम संयोजक बिमल बस्नेतले जानकारी गराए । बुटवलको जितगढी किल्लाबाट सुरु हुने साइकल यात्रा सम्पन्न गर्नका लागि १२ लाख बढी खर्च अनुमान गरिएको छ । बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, देवदह नगरापलिका तथा सैनामैना नगरपालिकाको समेत सहयोग रहेको कार्यक्रमबाट यहाँको धार्मिक तथा पर्यटकी क्षेत्रको बारेमा प्रचारप्रसार तथा प्रवर्द्धन गरी पर्यटकीय विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

स्वास्थ्य र वातावरणका लागि साइकल यात्रा गर्नु पर्ने सचेतना फैलाउन समेत यो कार्यक्रमले सहयोग गर्ने क्लबका सचिव मनि विश्वकर्माले उल्लेख गरे । क्लबले आगामी वर्षमा साइकल यात्राको कार्यक्रमलाई थप वृहत बनाई यो वर्ष तय गरिएका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु बाहेक अन्य स्थलहरुमा समेत पुग्ने गरी अहिलेदेखि नै कार्यक्रम योजना भइरहेको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।