ताजा अपडेट »

विवेकशील साझाले शनिबार ललितपुरमा बृहत आमसभा गर्दै

शुक्रबार, १७ मंसिर २०७८, १५ : ५९
6 Shares

काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत आमसभा गर्ने भएको छ । विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालैमात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्तावेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्तावेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीककरण र ध्रुविकरण सुरु गरेको छ । शनिवार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालिन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ ।

पार्टीले अध्यक्ष मिश्रको विचारभन्दा माथि देश दस्तावेज पारित गरेसँगै स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रह गर्ने एजेण्डालाई अंगिकार गरेको छ । साथै पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत संगठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम लिएर अघि बढेको छ । शनिवार गरिने एकीकरण घोषणा सभालाई पार्टीले रुपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेको छ । एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता पाठकको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।