ताजा अपडेट »

आवश्यक परे कप्तानी गर्न तयार छु : क्रिकेटर भेषवाकर

विहीबार, ३० असोज २०७६, १४ : ४६
8 Shares

रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो संस्करण अन्तरगतको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गरेको छ । स्थानीय खेलाडीलाई उत्थान गर्नेगरी आयोजना गरिएको उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलीसकेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको समेत सहभागिताले थप नयाँ पिढीलाई थप उर्जा मिलेको छ । वर्षमा एक दुई पटक आयोजना गरिने यस्ता खालका प्रतियोगिताले मात्रै नयाँ खेलाडी उत्पादन गर्न प्रयाप्त नभएपनि केही मात्रामा सहयोग भने हुन सक्ने सरोकारवालाहरु बताउछन् । प्रतियोगितामा लुम्बिनी शाक्यान्बाट खेलीरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी सरद भेषवाकर पनि सहभागि भएका छन् । तिलोत्तमामा जारी टिपिएल प्रतियोगिता, यस क्षेत्रमा क्रिकेटको सम्भावना तथा राष्ट्रिय क्रिकेट टोलीका बारेमा ग्लोबल आवाजका लागि डि.बी.सुस्लिङले क्रिकेट खेलाडी सरद भेषवाकरसँग गरेको कुराकानी :

टिपिएल प्रतियोगितामा सहभागि भइरहँदा नयाँ केही अनुभव गर्नुभयो ?
–सधै क्रिकेटमै व्यवस्त रहने हाम्रा लागि नयाँ कुराको अनुभव भन्दा बढी यो प्रतियोगिताले नयाँ खेलाडी पहिचान गर्नका लागि सहयोग गरेको छ । स्थानीय स्तरमा रहेका नयाँ प्रतिभाहरुलाई चिन्ने र उनीहरुको क्षमता वृद्धिका लागि टिपिएलले भूमिका खेल्न सक्छ । यस प्रतियोगितामा १ सय ५० जना खेलाडीहरु सहभागि हुनुभएको छ । पक्कै पनि यस मध्यबाट नयाँ प्रतिभाहरु छनोट गरेर अगाडी लैजानका लागि हामीलाई पनि सजिलो हुन्छ ।

यस क्षेत्रको क्रिकेट विकासका लागि यो प्रतियोगिताको भूमिका कत्तिको देख्नुभएको छ ?
–एउटा खेल खेलाएर मात्रै क्रिकेटको विकास सम्भव हुने होइन । सफल र सक्षम खेलाडी उत्पादनका लागि निरन्तरको अभ्यास, प्रयाप्त मात्रामा प्रतियोगिताहरु भइनै राख्नुपर्छ । केही हदसम्म यो प्रतियोगिताले क्रिकेट विकासमा सहयोग गरे पनि प्रयाप्त होइन ।

यहाँको खेलकूद मैदान तथा अन्य भौतिक संरचनाहरु क्रिकेटका लागि प्रयाप्त छन् ?
–यो एउटा सानो प्रयास मात्रै हो, एकै पटक सबै कुरा सम्भव पनि हुँदैन । विस्तारै मैदानको स्तर बढाउँदै लैजानुपर्यो । प्राय अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु पिजमा खेलाईने हुँदा यहाँ पनि सधै म्याटमा खेलाएर भएन पिचको व्यवस्था हुन जरुरी छ । मैदानलाई थप फराकीलो, दर्शकका लागि प्रयाप्त स्पेस भएको बनाउन सके राम्रो हुन्छ ।

राष्ट्रिय क्रिकेटको कुरा गर्दा, कप्तान पारस खड्काले राजीनामा दिनुको कारण र यसबाट पर्ने प्रभाव बारे के भन्नु हुन्छ ?
–उहाले के सोचेर राजीनामा दिनुभयो व्यक्तिगत कुरातर्फ नजाउँ । अर्को विषय उहाँले राजीनामा दिएपछि क्रिकेट विकासमा त्यस्तो ठुलो असर पर्छ जस्तो मलाई लाग्दैन । क्रिकेट खेल एउटा टिम वर्क हो । एक्लैले गरेर केही पनि हुने होइन, टिम वर्कमा हामी साथमै छौं ।

अबको कप्तान को होला ? तपाईलाई अफर आयो भने तयार हुनुहुन्छ ?
– यो मैले निर्णय गर्ने कुरा होइन, अहिल्यइ यो बन्छ भनेर भन्न सक्ने अवस्था पनि छैन । यी सबै कुराहरुको निर्णय गर्ने अधिकार बोर्डलाई भएको हुनाले मैले धेरै बोल्नु ठिक पनि हुँदैन । मेरो नाममा कप्तानको जिम्मेवारी आउन सक्ने नसक्ने बोर्डको निर्णय हो । जो कोही पनि हुन सक्ला अहिल्यइ दाबी गर्ने बेला आएको छैन । रह्यो कुरा कप्तानी गर्न सक्ने र नसक्ने भन्ने विषयमा आवश्यक परेको अवस्थामा त्यसका लागि म पनि सक्षम छु । एक व्यक्ति, कप्तानले मात्रै सबै कुरा हुने होइन टिम वर्कको कुरा हो, सफल कप्तान हुन समग्र टिमको प्रयास हुन जरुरी पर्छ ।

नेपाल क्रिकेट वोर्ड (क्यान) निलम्बन फुकुवा भएको छ, अब क्रिकेट विकासको कसरी बढ्ला ?
–क्यान फुकुवामा परेपछि क्रिकेट विकासका लागि विभिन्न क्षेत्रबाट आउने सहयोग तथा लगानीको वृद्धि हुन्छ । लगानी आकार वृद्धि भएसँगै क्रिकेको विकासमा पनि थुप्रै सम्भावनाहरु खुल्ने छन् । ठुला–ठुला प्रतियोगिताहरुको आयोजना हुनुका साथै क्रिकेटका लागि भौतिक संरचनाहरु सुधानमा समेत महत्पूर्ण फाइदाहरु लिन सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।