ताजा अपडेट »

अख्तियारमा फेसबूकबाट पनि गर्न सकिन्छ उजुरी!

विहीबार, ३० असोज २०७६, १३ : ३३
2 Shares

असोज ३०,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा २ हजार ७ सय ९७ वटा उजुरी दर्ता भएका छन् । आयोगको आधिकारिक फेसबूक पेजमा म्यासेजबाट आएका आधिकारिक उजुरी पत्रलाई उजुरीको रूपमा दर्ता गर्ने गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।आयोगमा उजुरी गर्न सकिने धेरै तरिका छन्, त्यसमध्ये अहिले फेसबूकबाट हुने उजुरी पनि एक हो । आर्थिक वर्ष ०७६/०७७ को पहिलो ३ महिनामा दर्ता भएका उजुरीहरू विभिन्न १० माध्यमबाट आएको देखिन्छ ।

आयोगको कार्यालयमा यो आर्थिक वर्षको पहिलो ३ महिनामा इमेलमार्फत २२०, फेसबूकमार्फत २५, फ्याक्समार्फत १८, पत्रपत्रिकामार्फत ३५, अनलाइनमार्फत १५२, हुलाकमार्फत ९१ र एसएमएसमार्फत ३ वटा उजुरी दर्ता भएको छ ।त्यसैगरी आयोगको कार्यालयमा टेलिफोनमार्फत ८८, लिखित रूपमा १ हजार ५६ र अन्य विधिमार्फत १ हजार १ सय ९ वटा उजुरी दर्ता भएको आयोगको कार्यालयले जानकारी दिएको छ ।

समाचार र मेसेजबाट उजुरी कसरी बनाउँछ आयोगले ?

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगले समाचार पत्रमा छापिएको घट्नाको विस्तृत विवरणलाई पनि कहिलेकाहीँ उजुरी बनाउने गरेको छ ।‘कतिपय उजुरी भाइबर, टोल फ्री नम्बर र मौखिक रूपबाट आंशिक रूपमा प्राप्त हुन्छ र कहिलेकाहीँ त्यही विषय समाचारपत्रमा विस्तृत रूपमा आयो भने त्यस आधारमा हामीले उजुरी दर्ता गर्छौं,’ प्रवक्ता कोइरालाले भने ।आंशिक रूपमा आएका मौखिक वा मेसेजका आधारमा समाचार आइसकेपछि आयोगले आन्तरिक रूपमा छलफल गरेर उजुरी दर्ता गर्ने प्रक्रिया रहेको प्रवक्ता कोइरालाले जानकारी दिए । - लोकान्तर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।