ताजा अपडेट »

राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो

बुधबार, १५ मंसिर २०७८, १९ : ४७
18 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे चासो देखाएको छ । प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाहरुका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरी आयोजनाहरुको प्रगतिबारे चासो देखाएका हुन् ।

बुधबारदेखि मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले छलफल सुरु गरेका हुन् । मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बिचमा समन्वय, सहकार्य र सहजिकरणको आवश्यकता रहेकोमा जोड दिए । आयोजनामा कहि कतै अबरोध आए त्यसको सहजीकरणका लागि प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री केसीले सरकारी आयोजनाहरु समयमै सम्पन्न हुँदैनन् भन्ने मानसिकतालाई तोड्ने गरी तिब्र रुपमा काम गर्न आयोजना प्रमुखहरुलाई निर्देशन समेत दिए ।

भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा गौतमबुद्धको आकृती देखिने खालको लाइटको ब्यवस्था गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री केसीले त्यसका लागि रकम आवश्यक परे प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए ।

यस्तै, बबई सिचाई आयोजनाका सिनियर डिभिजन ईन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिए । ३६ हजार हेक्टर कृषि योग्य भूमिको सिचाईको योजना सहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भईरहेको जानकारी गराए ।

कार्यक्रममा सिक्टा सिंचाई आयोजना, नेपाल टेलिकम प्रादेशिक कार्यालय, नेपाल विद्युत प्राधिकरण, जनताको तटबन्धन कार्यक्रम बुटवल, शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई ब्यवस्थापन, बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रम भोलीसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।