ताजा अपडेट »

झिना मसिना कामले अड्कियो गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन

बुधबार, १५ मंसिर २०७८, १६ : २३
2 Shares

भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईट मंसिरको ६ गते देखी गर्ने भनिएको भए पनि अहिलेसम्म हुन सकेको छैन् । क्यालिब्रेशनको ठेक्का पाएको थाईलैण्डको एरो थाई कम्पनी क्यालिब्रेशन फ्लाईटको लागी तयार रहेको भए पनि बिमानस्थलमा निर्माण हुन बाँकी रहेका केही संरचनाका कारण रोकिएको छ ।

गौतमबुद्ध बिमानस्थलमा आईसीबी १ अन्र्तगतका प्राय सबै काम सकिएको भए पनि टावरमा एसी जडान नभएको भन्दै क्यालिब्रेशन फ्लाईट नै रोकिएको छ । आईसीबी २ का प्रोजेक्ट म्यानेजर प्रवीन न्यौपानेले क्यालिब्रेशन फ्लाईटको लागी तयारी अवश्थामा रहेको भए पनि एसी लगायतका काम बाँकी रहेको कारण हुन नसकेको बताए । “एरोथाई प्राविधिक रुपमा तयार रहेको छ तर अहिले केही स–सानो कामले रोकिएको छ ।” न्यौपानेले भने “एयर कन्डिसनिङ्ग र पावर सप्लाई नियमित नभएर रोकिएका छौ ।”

उनले बिमानस्थलको लागी चाहिने विद्युत भोल्टेज बराबर नभएको बताए । अहिले एरोथाईका प्राविधिकहरु अहिले बिमानस्थलमा रहेका सबै बत्ती र विद्युतीय उपकरणहरुको चेकजाँच गरि रहेका छन् । यो प्रक्रिया करिब २ साता चल्ने र यस पछि बल्ल यान्त्रिक उडान (क्यालिब्रेशन फ्लाईट) को लागी तयार भए नभएको निश्चित हुने छ । न्यौपानेका अनुसार सम्भवतः डिसेम्बर महिना भित्र क्यालिब्रेशज फ्लाईट गर्न सकिने सम्भावना रहेको छ । तर यो निश्चित समय भने नभएको उनको भनाई छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोडको रहे पनि आर्थिक प्रगति ७७ प्रतिशत मात्र रहेको छ । दोस्रो अन्तराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अत्तिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तराष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको हो । कूल रु ६ अर्ब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो ।

आइसिबी वान अन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तरराष्ट्रिय जहाज पार्किङ गर्नसक्ने क्षमताको जहाज पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५ सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।

३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको आयोजनाको ९८ दशमलव २५ प्रतिशत भन्दा बढि भौतिक प्रगति हासिल गरि रहदा ६ पटक म्याद थपिसकिएको छ । छैठौ पटक थपिएको २०२१ को जुन महिना सम्ममा पनि काम नसकिदा चिनिया कम्पनीले फेरी म्याद थप गर्न निवेदन दिएको थियो । अहिले सन २०२१ को डिसेम्बर सम्म म्याद थपको लागी प्रस्ताव गरिएको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा