ताजा अपडेट »

बौदीकालीको सुन्तलाले बजार पाएन

बुधबार, १५ मंसिर २०७८, १२ : ४३
2 Shares

नवलपुर । सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पु¥याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ ।

सुगम जिल्लाका रुपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् । बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पु¥याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरुले गुनासो गरेका छन् ।

बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिए । “स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकहरुले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पुर्याएर बेच्ने गरेका छन्,” खरुमगरले भने, “यातायात सहज भएको भए सबै सुन्तला बिक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।” किसानले मिहिनेत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरुमा आर्थिकसँगै मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताए ।

कृषकहरुले बोकेर नै सुन्तला बजार पु¥याउने गरेको भए पनि बजारमा व्यापारीले उचित खरिद मूल्य नदिँदा थप मर्का परेको उनको भनाइ छ । “बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पुर्याउन समस्या छ,” वडाध्यक्ष खरुमगरले भने, “बोकेरै बजार पु¥याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानहरुको गुनासो छ ।” बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला बिक्री गरेर कृषकहरु फर्किनुपर्ने बाध्यता रहेको उनले बताए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।