ताजा अपडेट »

विश्वव्यापी भोकमरी सूचकांकमा नेपालको सुधार, नेपाल ७३ औं स्थानमा

विहीबार, ३० असोज २०७६, १० : ५९
6 Shares

असोज ३०,
काठमाडौँ । विश्वव्यापी भोकमरी सूचकांकमा विश्वका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ । नेपालको स्थिति विगत १९ वर्षमा सुधार भएर अति गम्भीर भोकमरीग्रस्त देशको सूचीबाट गम्भीर भोकमरीग्रस्त देशको सूचीमा झरेको प्रतिवेदनले देखाएको छ । यस्तै, ग्लोबल हंगर इन्डेक्स (जीएचआई) अर्थात् विश्वव्यापी भोकमरी सूचकका अनुसार नेपाल भारतभन्दा २९ स्थान माथि रहेको छ । सूचकका अनुसार १ सय १७ देशको सूचीमा भारत १०२ औं स्थानमा रहँदा नेपाल २०.८ अंकसहित ७३ औं स्थानमा रहेको छ । प्रतिवेदनले नेपाल अझै गम्भीर भोकमरी भएका मुलुकको सूचीमा रहेको जनाएको छ ।

प्रतिवेदनले २० देखि ३४.९ अंकसम्म प्राप्त गर्ने देशहरु गम्भीर भोकमरीको चपेटाबाट मुक्त नभइसकेको जनाएको छ । १९ वर्ष अघि नेपाल ३६.८ अंक सहित अति गम्भीर भोकमरीग्रस्त देशको सूचीमा रहेको थियो । दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक भारत ग्लोबल हंगर इन्डेक्समा सबैभन्दा तल छ । सन् २०१० मा भारत ९५औं स्थानमा थियो र सन् २०१९ सम्म १०२ औं स्थानमा आइपुगेको छ । तर नेपालको अवस्था भने सुधार हुदै आएको छ, प्रतिवेदनले देखाएको छ । सन् २०००मा नेपालको अंक ३६.८ थियो भने लगातार घट्दै गएर सन् २००५ मा ३१.३, सन् २०१० मा २४.५ तथा सन् २०१९ को प्रतिवेदनमा २०.८ अंकमा झरेको प्रतिवेदनले जनाएको छ । अर्थात् जति कम अंक प्राप्त गर्यो तये देश त्यति कम भोकमरीयुक्त भन्ने बुझिन्छ । ११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्सका अनुसार भारत १०२औं स्थानमा कायम भएको छ भने पाकिस्तान यो सूचीमा ९४ औं स्थानमा छ । यस्तै, यो सूचीमा नेपाल ७३ औं स्थान, म्यानमार ६९ औं, श्रीलंका ६६ औं र बंगलादेश ८८ औं स्थानमा रहेका छन् । सूचीमा चीन २५ औं स्थानमा रहेको छ ।

तर, बेलायत, रुस, युक्रेन, टर्की, क्युबा र कुवेत ग्लोबल हंगर इन्डेक्समा अब्बल दर्जामा छन् । साथै, रुवाण्डा र इथियोपियाजस्ता मुलुकले पनि सूचकमा सुधार गरेका छन् । कुपोषण, शिशु मृत्युदर, चाइल्ड भेस्टिङ तथा बच्चाको वृद्धिमा आउने गिरावट चार तत्वका आधारमा यो सूची तयार पारिएको हो । प्रतिवेदनमा विश्वमा ५ वर्षभन्दा कम उमेरका करिब ७० करोड बच्चाको एकतिहाइ कुपोषित तथा मोटोपनासँग संघर्ष गरिरहेको उल्लेख छ । मंगलबार सार्वजनिक संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा विश्वमा ८० करोडभन्दा बढी मानिस भोकमरीबाट पीडित भएको उल्लेख छ । युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरेले स्टेट अफ द वल्र्ड चिल्ड्रेन शीर्षक प्रतिवेदन जारी गर्दै भनेकी छन्, “मानिसले स्वस्थ रहनका लागि राम्रो खानपानको लडाइँ हारेका छन् ।

१९९९ पछि आएको यो प्रतिवेदनका अनुसार विश्वभरीमा पाँच वर्षभन्दा कम उमेरका बच्चामध्ये करिब आधा बच्चालाई भिटामिन र खनिज उपलब्ध हुन सकेको छैन ।’’ विगत ३ दशकमा बच्चामा हुने कुपोषणको अर्को रूप मोटोपनाको रूपमा पनि हेर्न सकिन्छ । यद्यपि १९९० देखि २०१५ को बीच गरिब देशमा बच्चा पुड्को हुने अवस्थामा ४० प्रतिशतले गिरावट आएको छ । यति मात्रै होइन कि ४ वर्ष वा योभन्दा कम उमेरका १४ करोड ९० लाख बच्चाको उचाइ अझैँ  पनि आफ्नो उमेरको दृष्टिकोणबाट सानो रहेको छ । संयुक्त राष्ट्र संघको आँकडाअनुसार ४० प्रतिशत खाना खेर गइरहेको छ । - कारोबार

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।