ताजा अपडेट »

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

विहीबार, ३० असोज २०७६, ०९ : ४४
4 Shares

असोज ३०,

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्राष्ट्रिय पर्यटक आगमन सम्बन्धी तथ्याङ्क अनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा २१.८ प्रतिशतको वृद्धिदर छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो ।प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ । ६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकको स्वागत गरेको थियो । १० लाख पर्यटक भित्र्याउने वर्षौंको लक्ष्य नेपालले सोही वर्ष पूरा गरेको थियो ।

सन् २०१७ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या नौ लाख ४० हजार थियो । त्यस्तै सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन विभागको तथ्याङ्क छ । सन् २०१६ र २०१७ को तुलनात्मक पर्यटक सङ्ख्याको वृद्धिदर पनि करिब २५ प्रतिशत नै थियो । नेपालले लगातार दुई वर्ष पर्यटक आगमनमा करिब २५ प्रतिशतकै वृद्धिदर हासिल गर्न सफल भएको हो । सन् २०१९ को अगस्टसम्म सात लाख ४२ हजार छ सय पर्यटकले नेपाल भ्रमण गरेको अध्यागमन विभागको तथ्याङ्क छ ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष नै घोषणा गरी २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ । यसका लागि छुट्टै सचिवालय नै स्थापना गरेर तयारीको प्रक्रिया अगाडि बढाइएको छ ।भ्रमण वर्ष नै लक्षित गरेर भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने कामलाई तीव्र पारिएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउन सामाजिक सञ्जालमा आधिकारिक लोगो प्रयोगदेखि विदेशमा रहेका नेपालीलाई त्यहाँका पर्यटक नेपाल पठाउने पहल गर्नसमेत आग्रह गरेको छ ।-गोरखापत्रबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।