ताजा अपडेट »

१८ वर्ष माथिका ४४ प्रतिशतले पाए पूर्ण खोप

मंगलबार, १४ मंसिर २०७८, १८ : २२
4 Shares

गुल्मी । कोभिड-१९ को ओमिक्रोन भेरियन्टका कारण फेरि संकट सुरु भएको छ । थुप्रै देशमा लकडाउन र संकटकाल भइरहेका छन् । छिमेकी देश भारतमा समेत ओमिक्रोन फेला परेका समाचार आइरहेका छन् ।

गुल्मीमा अहिलेसम्म १८ वर्ष माथिका ४४ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । १८ वर्ष माथिका एक लाख ४२ हजार चार सय ३० मध्ये ९३ प्रतिशत अर्थात् एक लाख ३२ हजार एक सय एक जनाले कोभिड–१९ विरुद्धको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । भने ६२ हजार चार सय दुई जनाले दोस्रा डोज लगाएका छन् ।

जिल्ला बाहिर र परदेशमा समेत भएकाहरूले सम्बन्धित ठाउँमै पनि खोप लगाएकाले दुवै डोज ९० प्रतिशतभन्दा माथि लगाए कोही नछुट्ने आचार्यले बताए । ‘प्रभावकारी रूपमा प्रचार-प्रसार र अभियान सञ्चालन गरेकाले छुट्ने सम्भावना कम छ । केही बाहिर भएकाले सबै तथ्यांक आउँदैन,’उनले भने,‘दुवै डोज ९० प्रतिशत पुगे कोही छुट्दैनन् ।’

जिल्लामा कोभिड–१९ को संक्रमण कायम रहेको छ । अहिले पनि कोभिड–१९ का सक्रिय संक्रमित दुई सय ४८ जना रहेका छन् । नेता र नेतृत्व तहबाट जोखिमलाई बेवास्ता गरिएको छ । 

लाखौको उपस्थितिमा भेला, महोत्सव र उत्सव सुरु भएका छन् । नागरिकलाई पनि कुनै मतलब छैन । नेपालमा जोखिमको पूर्व तयारीमा पनि छैन । जसका कारण नयाँ भेरियण्ट नेपाल भित्रने निश्चित छ ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आफू जिल्ला आएपछि करिब ८० हजार खोप मगाएर पहिलो डोज लगाइएको बताए । उनले पहिले निकै कम खोप आएकाले दुवै डोज लगाउनेको प्रतिशत कम रहेको बताए । 

‘८० हजार खोप सानो उपलब्धि होइन । सवैसम्म खोप पुराउन प्रचार–प्रसार र अभियानको ठाउँ–ठाउँमा अनुगमन पनि गरेका छौ,’उनले भने,‘पहिलो डोज पाएपछि दोस्रो पक्कै आउने भएकाले नयाँ संक्रमण लाई ख्याल गरेर खोप लगाऊँ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।