ताजा अपडेट »

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

मंगलबार, १४ मंसिर २०७८, १७ : ०६
10 Shares

मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् ।

सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन गरेको सिद्धार्थ भेडा फार्मका नौ भेडा र दुई बाख्रा मरेका छन् । भेडीगोठबाट बेँसी झर्ने क्रममा गत मङ्गलबार खोत्रो आइपुगेको र चामेतर्फबाट आएको जीप र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकलको बीचमा परेपछि तर्सिएर भाग्दा ३१ भेडाबाख्रा भीरबाट खसेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए।

प्रमुख कुसुमका अनुसार भीरबाट ३१ भेडाबाख्रा खसेकोमा दुईवटा बाख्रा र नौवटा भेडा घटनास्थलमै मरेका छन् । सडक छेउमै रहेको भीरबाट करिब १५ मिटर तल खस्दा भेडा बाख्रा मरेका उनले बताए । खबर प्राप्त भएसँगै कार्यालय प्रमुख कुसुमसहित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका टोली घटनास्थल पुगेर अनुगमन समेत गरेका थिए । स्थलगत अनुगमनको क्रममा घटना सत्य भएको र बाँकी घाइते भेडा बाख्राको उपचार समेत गरिएको कार्यालय प्रमुख कुसुमले बताए ।

मरेका भेडाको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले बताए। आकस्मिक रुपमा पशुपालक किसानलाई क्षति पुगेकाले क्षतिपूर्ति दिने र किसानलाई व्यवसाय पुनःस्थापना कार्यक्रमबाट सम्बोधन हुनेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । व्यावसायिक भेडाबाख्रापालन हुँदै आएको सिद्धार्थ भेडा फार्ममा हाल ५०० भेडाबाख्रा छन् । गर्मी मौसममा समुद्री सतहबाट तीन हजार मिटरमाथि उचाइमा पुग्ने मनाङका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्ने गरिन्छ । किसानले भेडीगोठबाट भेडाबाख्रालाई लमजुङको खुदी, भुलभुलेसम्म झर्ने गर्दछन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।