ताजा अपडेट »

ओलीले किन मागे घनश्याम भुसाल र भीम आचार्यलाई सदस्यमा मत ?

मंगलबार, १४ मंसिर २०७८, ११ : २९
2 Shares

चितवन । आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका छन् ।

पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारको नाम केन्द्रीय सदस्यमा पनि छ । ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन् । मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ । तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेदवार कायम भएका भुसाललाई भने सदस्यमा चैँ मतदान गर्न भनिएको छ ।

त्यसैगरी सचिव र सदस्य पदमा उम्मेदवारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ  । तर, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार भीम आचार्यलाई भने सदस्यमा मत दिन आह्वान गरिएको छ । ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ ।  

मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा केन्द्रीय सदस्यको सूचीको क्रम संख्या ३० नम्बरमा रहेका भुसाल र ६१ नम्बरमा रहेका आचार्यलाई मत दिन भनिएको छ भने ३७ नम्बरमा रहेका कार्की र ६३ नम्बरमा रहेका रावललाई भने मत नदिने उल्लेख गरिएको छ । यसले कार्की र रावललाई केन्द्रीय कमिटीमा नअटाउन चाहेको र भुसाल र आचार्यलाई भने केन्द्रीय कमिटीमा ओलीले देख्न चाहेको अर्थमा एमालेका नेताहरूले बुझेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।