ताजा अपडेट »

कांग्रेस महाधिवेशन : नरेन्द्रकुमार केरुङले गरे केन्द्रीय सदस्यमा उम्मेद्‌वारी घाेषणा

मंगलबार, १४ मंसिर २०७८, १० : ३९
4 Shares

पाँचथर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले पार्टीकाे १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिने भएका छन् ।

दुई पटक जिल्ला कार्यसमितिको नेतृत्व गरेका केरुङले महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन् । “दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरेकाले अब केन्द्रीय सदस्यको उम्मेद्वारको रूपमा आफूलाई अगाडि सारेको छु । सबै प्रतिनिधिहरूले माया गर्नु हुन्छ भन्ने विश्वास लिएको छु”, केरुङले भने, “लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा अथक प्रयास गरेको छु ।”

केन्द्रीय सदस्यको उम्मेद्वार बनेपछि निर्वाचन तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघीय राजधानी काठमाडौंसहित महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटका लागि सोमबारबाट अभियान प्रारम्भ गरेको केरुङले जानकारी दिए ।

कांग्रेस पाँचथरको सभापति बनेपछि केरुङ दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र नंं. क बाट उम्मेद्वार समेत बनेका थिए । जिल्ला कार्यसमितिमा दुई कार्यकाल सहसचिवको जिम्मेवारी निभाएपछि केरुङ काँग्रेसको १२औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनिएका थिए । त्यसअघि केरुङ ट्रेड युनियन कांग्रेस पाँचथरको तीन कार्यकाल सभापति बनेर काम गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।