ताजा अपडेट »

महाधिवेशन प्रतिनिधिमा कांग्रेस सिन्धुपाल्चोकमा संस्थापन पक्ष अगाडि

सोमबार, १३ मंसिर २०७८, १३ : ५७
6 Shares

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकमा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रतिनिधिहरू छानिएका छन् ।  २ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ सर्वाधिक चार सय ८७ मत ल्याएर विजयी भएका छन् ।

कांग्रेस जिल्ला सभापति विकास लामाले चार सय ३४ मत पाउँदा बाग्मती प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका निमा लामाले तीन सय ८६ मत ल्याए । महाधिवेशन प्रतिनिधिका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २५ जना प्रतिनिधि छानिएका छन् ।

प्रत्यक्ष खुलातर्फ वंशलाल तामाङ, विकास लामा, निमा लामा, बिलबहादुर तामाङ, राजेन्द्रबहादुर गोर्खाली, जिमी लामा, निमाग्याल्जेन शेर्पा, विकास तामाङ, सागारकुमार श्रेष्ठ, भरत खड्का चयन भएका छन् । प्रत्यक्ष महिलातर्फ जमुना मोक्तान तामाङ, करिना पुरी, गंगा चापागाई, लक्ष्मी सुनार छन् । 

खस आर्य खुलातर्फ बासुदेव अधिकारी र उद्धव बानियाँ, खस आर्य महिलातर्फ गोपिनी गिरी,आदिवासी जनाजाति खुलामा प्रकाश गुरुङ, श्री लामा र कालिका गोले चयन भएका छन्  ।  आदिवासी जनजाति महिलामा सर्वसम्मत रहेकामा रेनुका श्रेष्ठ, सानुमैया, हिमालय,सविता गुरुङ हुन् । मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यकबाट शिवहरि नेपाल चयन भएका छन् । 

कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को अधिवेशनमा मोहन बस्नेत अत्यधिक मतसहित  प्रतिनिधि चुनिसकेका छन् । बस्नेतसँगै महाधिवेशन प्रतिनिधिमा उनको प्यानलबाट प्रत्यक्षतर्फ नाैजना विजयी भएका छन् । कुल एक हजार ३४ मत खस्दा बस्नेत आठ सय दुई मत ल्याएर विजयी भएका हुन् । उनकै प्यानलबाट प्रत्येक्षतर्फ डा. प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, श्रवणकुमार जिसी (विनोद), भोला बोहरा , राजेन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री, रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।

बस्नेतले पटक पटक कारबाही गरेका उनी इतर खेमाका दोर्जे लामा हाउडेसमेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । बस्नेत इतर खेमामा रहेका जिल्ला सभापतिमा प्रत्यासी रहेका भुपेन्द्र थापाले वडास्तरमै हार व्यहोर्दा लामाको जितले उनलाई प्रभावशाली नेताको रूपमा उभ्याएको छ । उनी तरुण दलका जिल्ला अध्यक्ष हुन् । लामालाई बस्नेतले कारबाही गरेर समानान्तर तरुण दल बनाउँदासमेत विधानत: लामा नै पुनः अध्यक्ष बनेका थिए ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लीलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी, शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् । खस आर्यतर्फ युधिर पौडेल, रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा, हिमालकुमार श्रेष्ठ, ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् । अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस सिन्धुपाल्चोककाे जिल्ला अधिवेशन १४ र १५ मंसिरमा मेलम्चीमा हुने जिल्ला सभापति विकास लामाले जानकारी दिए । 

१९ वर्षकी किशोरी महाधिवेशन प्रतिनिधि
करिना पुरी महाधिवेशन प्रतिनिधिका लागि आइतबार भएको चुनावमा सबैको ध्यानकेन्द्रित गरेको नाम हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ज्यामिरेकी करिना सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको रूपमा विजयी भएकी हुन् ।

नेपाली कांग्रेसको सभापति चयनमा सानै उमेरमा भाग लिने अवसर पाएकी करिनाको सपना  अबको कांग्रेस नेतृत्व युवाको जोश र अग्रजको अनुभवलाई समेट्न सक्ने होस् भन्ने छ । उनी भन्छिन्, “त्यस्तो नेतृत्वले मात्र मुलुक र लोकतन्त्रको रक्षा गर्न सक्छ ।” 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत भएको निर्वाचनमा उनी महिला खुलातर्फबाट (४०९ मतसहित) महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।