ताजा अपडेट »

निर्माण सकिएकाे केही दिनमै जिर्ण बनेकाे ताथलीको पर्खाल

सोमबार, १३ मंसिर २०७८, १३ : ०५
2 Shares

भक्तपुर । चाँगुनारायण नगरपालिकामा केही समय अगाडि मात्रै बनाएकाे पर्खाल जिर्ण बनेकाे छ । चाँगुनारायण नगरपालिका-९ ताथलीको पण्डित पधेँरोदेखि बालाटोल हुँदै सुडाल जोड्ने सडक खण्डमा लगाएको पर्खाल भत्किने अवस्थामा पुगेकाे हाे । 

नगरपालिकाको गौरवको योजनाअन्तर्गत पर्ने याे पर्खाल ठेकेदारमार्फत निर्माण गरिएको थियो । पर्खाल निर्माणका क्रममा ठेकेदारले लापरवाही गरेका कारण कमजाेर भएकाे वडाध्यक्ष गणेश त्यातले बताए । उनका अनुसार सो योजना फास्टट्रयाक सडकअन्तर्गत पर्छ । 'सडकको पर्खाल भत्किन लागेकाे भन्दै स्थानीयको गुनासो आएको थियो । सोही अनुरुप अनुगमन गर्दा निकै लापरवाही भएकाे देखियो,' उनले भने, 'वडाका विभिन्न व्यक्ति तथा नगरपालिकाका प्राविधिकको उपस्थितिमा अनुगमन गरेका थियौँ ।' 

उनका अनुसार प्लम कंक्रिट विधिको वालमा एक भाग ढुंगा एक भाग मसला (ढलान) हाल्नु पर्नेमा त्यहाँ करिब ९० प्रतिशत ढुंगा मात्र राखेकाे पाइन्छ । नगरपालिकाका इञ्जिनियर पुरुषोत्तम शर्माले ठेकेदारले लापरवाही गरेको भेटिएको र बारम्बार ठेकेदारलाई खबर गर्दा पनि कुनै सुनुवाई नभएको बताए । उनका अनुसार एक तह ढुंगा, एक तह ढलान राखी बनाउनु पर्ने वालमा त्यहाँ त ढुंगाको मात्र चाङ लगाएको रहेछ । त्यसरी लगाएको ढुंगा छोप्न बाहिर घोला छ्यापिएको रहेछ । सो पर्खाल निर्माणाकाे जिम्मा निर्माण व्यवसायी लिला लामाले पाएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।