ताजा अपडेट »

गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव पुसमा

सोमबार, १३ मंसिर २०७८, १० : ३८
4 Shares

बागलुङ । गलकोट खेलकुद तथा सांस्कृतिक महोत्सव’ आगामी पुस १५ देखि २६ गतेसम्म गलकोट नगरपालिका–६ मजुवा फाँटमा हुने भएको छ । ‘ड्रिम टिम गलकोट’को आयोजनामा हुने महोत्सवको तयारी अगाडि बढाइएको संस्थाका अध्यक्ष रुपक पाण्डेले बताए । १२ दिनसम्म चल्ने महोत्सवमा खुला भलिबल प्रतियोगिता, गलकोट डान्स आइडल–२०७८, रत्यौली, माछा छोप्ने (हत्केला खेल्ने), दौड, ब्याडमिन्टन, टेबुलटेनिसलगायत प्रतियोगिता हुनेछन् ।

महोत्सवमा मौलिक कला, संस्कृतिको प्रदर्शन, रमाइलो मेला र साङ्गीतिक कार्यक्रम पनि हुने उनले जानकारी दिए । “महोत्सव सफल पार्न स्थानीय प्रशासन, राजनीतिक दल, सङ्घसंस्थादेखि सबै पक्षसँग समन्वय गरिरहेका छौँ”, उनले भने । कोरोना सङ्क्रमण मत्थर भएको र दुई वर्षदेखि गलकोटमा खेल, कला र मनोरञ्जनका गतिविधि नभएकाले महोत्सव आयोजना गरिएको ड्रिम टिम गलकोटले जनाएको छ । महोत्सवबाट खेल, कला, संस्कृतिसँगै व्यापार प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास आयोजकको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने जनाइएको छ । यसअघि पनि गलकोट उद्योग वाणिज्य सङ्घ, गलकोट घुम्टे पर्यटन विकास केन्द्रलगायतका सङ्घसंस्थाले गलकोटमा मेला, महोत्सवको आयोजना गर्दै आएका थिए । कोरोना महामारीका कारण दुई वर्षदेखि त्यस्ता कार्यक्रम रोकिन पुगेका थिए । अहिले कोरोना सङ्क्रमण दर न्यून रहेको र कोरोनाविरुद्ध खोपको पहुँच पनि बढ्दै गएकाले सार्वजनिक समारोह, मेला तथा महोत्सव हुन थालेका हुन् ।

गत हप्ता बडिगाड गाउँपालिकामा परम्परागत न्वागी मेलाको आयोजना गरिएको थियो । त्यसअघि ताराखोला गाउँपालिकामा भुस पोल्ने पर्व, हरिबोधनी एकादशी मेलालगायत कार्यक्रम भएका थिए । जनस्वास्थ्यकर्मीले भने कोरोनाको जोखिम कामयै रहेकाले भिडभाडजन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नहिच्किचाउन सचेत गराउँदै आएका छन् ।- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।