ताजा अपडेट »

प्रदेश ५ : दशैमा ८५ सवारी दुर्घटना, २४ जनाको मृत्यु

बुधबार, २९ असोज २०७६, १० : ४७
40 Shares

असोज २९,
बुटवल । चाडपर्वको बेला नेपालमा धेरै सवारी दुर्घटना हुने गरेको छ । यस पटक प्रदेश ५ मा दशैंको समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलका अनुसार असोज १२ देखि २४ सम्म प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी २० पुरुष र चार महिला गरी २४ जनाको मृत्यु भएको हो । सवारी दुर्घटना र मृत्यु हुनेको संख्या अघिल्लो वर्षको दशैंभन्दा बढेको प्रादेशिक ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रामप्रकाश शाहले बताए ।

यस पटक सवारी दुर्घटनामा रुपन्देही र पश्चिम नवलपरासीमा ४/४, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३ /३, बाँकेमा २, दाङ र बर्दियामा १ / १ जनाको मृत्यु भएको शाहले जानकारी दिए। दुर्घटनामा परी ६२ जना गम्भीर घाइते र ५८ जना सामान्य घाइते भएका थिए । दशैंको अवधिमा ८५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सबैभन्दा बढी ४१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । जिल्लागत तहमा सबैभन्दा बढी बाँकेमा १२ वटा, रुपन्देहीमा १०, पश्चिम नवलपरासी र दाङमा ८/८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्युठानमा ३/३, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १/१ दुर्घटना भएका थिए। पूर्वी रुकुममा भने सो अवधिमा कुनै दुर्घटना नभएको प्रहरीको तथ्यांक छ। ट्राफिक कार्यालयका अनुसार दुर्घटनाहरुमध्ये धेरै तीव्र गति र चालकका गल्तीका कारण भएका छन् । २५ दुर्घटना तीव्र गति र चालकको लापरबाहीले २२ घटना भएका छन् । त्यसैगरी ओभरटेक गर्ने क्रममा ४, मादक पदार्थ सेवन गरी सवारी हाक्दा ३, यान्त्रिक गढबढी ३, ओभर लोड र यात्रुको गल्तीका कारण एक एक दुर्घटना भएको शाहले बताए ।

६ हजार ७६३ चालक कारबाही दशैंको समयमा असोज १२ देखि असोज २४ सम्म ट्राफिक नियम उल्लघंन गरी सवारी चालक चलाउने प्रदेश ५ का १२ जिल्लामा ६ हजार ७६३ सवारी चालक कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट ४० लाख ६० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा बढी कारबाही मोटरसाइकल चालकहरु परेका छन् । २३ सय ३९ वटा मोटरसाइकल र स्कुटर चालकलाई कारबाही भएको थियो । जसबाट १४ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसै गरी सो अवधिमा १ हजार ५२ बस, १२ सय ७७ जिप कार, टेम्पो २२३, ट्रक १४ सय ४९, टेक्टर ४ सय २३ वटा चालक कारबाहीमा परेका छन्। ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।