ताजा अपडेट »

नागढुङ्गा मुग्लिन सडकखण्ड चार लेनको बन्दै, तीन महिनापछि काम सुरु

बुधबार, २९ असोज २०७६, ०७ : ०७
2 Shares

असोज २९,

काठमाडौं। नागढुङ्गा मुग्लिन सडकखण्ड आगामी जनवरीदेखि विस्तार थाल्ने गरी गृहकार्य सुरु भएको छ। डिसेम्बरसम्ममा सबै प्रक्रिया सकेर जनवरीबाट काम थाल्ने योजनाका साथ काम भैरहेको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।उनका अनुसार ऋण र ठेक्का दुवै सम्झौता एकैपटक गर्ने तयारी छ। महाशाखाले आगामी महिना टेण्डर निकाल्ने छ। विश्व बैंकसँग पनि ऋण सम्झौताको प्रक्रिया पनि सँगसँगै अघि बढ्ने छ।दुबै सम्झौता डिसेम्बरमा सकेर जनवरीबाट काम सुरु गरिनेछ। नारायणगढ मुग्लिन सडक लगानी गरेको विश्व बैंकले यो सडकमा पनि लगानी गर्न लागेको हो।करिव २० अर्व रुपैयाँ लाग्ने अनुमान गरिएको छ। विश्व बैंकले लगानी गर्ने निश्चित भैसकेको छ।

करिव ९६ किमी लम्वाईको यो सडक निर्माण थालेको ३ बर्षमा सक्ने लक्ष्य राखिएको छ। विस्तारका लागि ड्रईङ डिजाईन समेत तयार भैसकेको छ। गत अगष्टमा नै डिपिआर तयार पारिएको हो। वातावरणीय प्रभाव मुल्याङकन (ईआइए) समेत तयार भैसकेको छ।विश्व बैंकले  सन् २०१८ मा केहि वातावरण सम्बन्धी गाईडलाईन परिवर्तन गरेकाले ईआइएपछि गरिने अध्ययन भैरहेको छ। त्यस्तै अहिले इण्डियन कम्पनीले 'रेट अफ रिटर्न' अध्ययन गरिरहेको छ। केहि समयभित्रै दुवै अध्ययन पूरा हुनेछ। त्यस लगत्तै टेण्डर प्रक्रियामा जाने महाशाखा प्रमुख थापाले जानकारी दिए।

महाशाखाका इन्जिनियर छविलाल पौडेलका अनुसार विद्यमान सडकलाई विस्तार गरेर पुरै चार लेनको बनाउन नसकिने भएपछि त्यसको विकल्पका रुपमा त्रिशुली नदीको पारिपट्टी अर्को दुई लेनको सडक बनाउन लागिएको छ।फिस्लिङदेखि विशालटारम्म विकल्पमा रुपमा त्रिशुलीपारीको सडक प्रयोग गर्न लागिएको हो। फिस्लिङदेखि विशालटारम्म विकल्पमा रुपमा त्रिशुलीपारिको सडक प्रयोग गर्न लागिएको छ।वारिपारि गर्नका लागि दुई नयाँ पुल समेत निर्माण हुनेछ।विस्तार हुन लागेको यो सडक निर्माण सुरु हुन लागेको नागढुङगा नौविसे सुरुङमार्गसंग जोडिनेछ।

उकालो स्थानका लागि डिजाईनमै व्यवस्था गरेर तीन लेनको बनाउन लागिएको छ। करिव ४ किमी खण्डमा यस्तो लेन थप्न लागिएको हो। मालवाहक ट्रकहरुलाई बिग्रदा अरु सवारीसाधन सजिलै पास हुन र ओभरटेक समेत गर्न सकियोस् भनेर तीन लेनको डिजाईन गरिएको पौडेलले जानकारी दिए। सडक साँघुरो र उकालो भएका कारण कुनै सवारीसाधन विग्रिए घण्टौसम्मको जाम हुने गरेको छ।

बजार क्षेत्रमा भने ६ लेनको सडक हुनेछ। दुईवटा लेन सर्भिस लेन हुनेछ। राजमार्गमा हिड्ने सवारीसाधनलाई डिस्टर्व नहोस् भनेर सर्भिस लेन बनाउन लागिएको हो। ती स्थानामा यात्रुहरुलाई सडक वारपार गर्नका लागि ओभरहेड ब्रिज समेत निर्माण हुनेछ।अहिलेका पुलहरुसंगै नयाँ पुल समेत निर्माण गरिनेछ। अधिकांश पुलहरु पुराना र अब साँघुरा हुने भएपछि  विद्यमान पुलसंगै नयाँ पुल निर्माण गर्न लागिएको हो। करिव २५ वटा नयाँ पुल निर्माण हुने महाशाखाले जनाएको छ।

इन्जिनियर पौडेलका अनुसार यो खण्डमा काम गर्न भने अत्यन्तै चुनौतिपुर्ण छ। मालवाहक सवारीसाधन र अन्य सवारीसाधनको चाप अत्यन्त धैरै हुने गर्छ।  यस राजमार्गमा करिव साना ठूला गरी १५ हजार सवारीसाधन दैनिक आवतजावत गर्छन्।रातमा समेत सवारीसाधन आवत जावत हुने गरेका छन् । भीर काटेर सडक विस्तार एकातिर गर्नुपर्छ भने अर्कातिर सवारीसाधन रोक्न मिल्दैन। यो सडक विस्तार गर्न सकिए घण्टौसम्मको जामको अन्त्य हुनेछ भने सडकको दुवैतिरबाट काम भैरहेकाले राजमार्ग नै सहज हुनेछ।
 
सडक निर्माणको पाँच बर्षसम्म मेन्टेनेन्सको जिम्मा निर्माण कम्पनी आफैले लिनुपर्ने प्रावधान राखिएको छ। सडक आयोजनामा डिफेक्ट लायविलिटी पिरियड पाँच बर्ष राखेर ठेक्का निकाल्ने तयारी थालिएको छ। विदेशी सहयोग वा ऋणमा यस्तो प्रावधान हुन्छ जसको उद्देश्य सडकको गुणस्तर उच्च बनाउनु नै हो।- -दिनेश खड्का/बिजमाण्डू

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।