ताजा अपडेट »

गुण एयरलाइन्सको चितवन-पोखरा उडान सुरु

विहीबार, ०९ मंसिर २०७८, १३ : १६
4 Shares

भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए । उनले भने, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”

असोज १ गतेदेखि काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।” -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।