ताजा अपडेट »

आन्तरिक पर्यटकको रोजाइमा ‘बाहुनथान’

विहीबार, ०९ मंसिर २०७८, १२ : ३५
4 Shares

वालिङ । झट्ट हेर्दा बीचमा उठेको पहाड । रुख बिरुवाबिनाको खुला केही समथर र भिरालो पहाड । वालिङ बजारबाट नजिकै रहेको शान्त, मनोरम र दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको ‘बाहुनथान’ पछिल्लो पटक आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ । पैदलमार्गबाट एकदेखि डेढघण्टा र सवारीसाधनमा वालिङ बजारबाट १५ मिनेटमा उक्त ठाउँमा पुग्न सकिन्छ । हिमशृङ्खलासहित वालिङ नगरपालिकाका मुख्य–मुख्य बजार, आँधीखोला र खोला किनारका समथर भूभागसहित स्याङ्जा र अन्य जिल्लाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा पुगेको बताएका छन् । आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासीको भनाइ छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण घरभित्रै रहनुपर्ने बाध्यात्मक अवस्था हटेर विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गर्दा झनै यस ठाउँमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय उक्त स्थानमा साना तथा ठूला सवारीसाधन पुग्नका लागि केही सडक कालोपत्र गरिएको छ भने केही सडकलाई स्तरोन्नति गरिएको छ । सडक कालोपत्र भएसँगै विशेषगरी अटो र मोटरसाइकलमा पारिवारिक घुमघामका लागि रुचाइएको स्थलका रूपमा बाहुनथानलाई लिने गरेका छन् ।

स्मार्ट सिटीको अवधारणासहित अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाभित्रका विशेषगरी बजारका घरमा एउटै ‘पिङ्क कलर’ लगाउने अभियान अगाडि बढाएसँगै यो क्षेत्र झनै मनमोहक देखिने गरेको छ । तत्कालीन बाइसे/चौबीसे राज्यको गहौँकोटे राज्यका बाघखोरकी रानी लालकुमारी खाँणले करिब १०० वर्षअघि उक्त जग्गा गौचरनका रूपमा छाडे । उक्त ठाउँमा ‘खाँणदेवी’ को मन्दिर स्थापना गरिएको र त्यहाँ पूजा गर्ने पूजारी गैहौँ जातिको बाहुन भएका हुनाले त्यस ठाउँलाई ‘बाहुनथान’ भन्न थालिएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

“आन्तरिक तथा बाह्य पर्यटनका दृष्टि प्रचुर सम्भावना बोकेको रमणीय ठाउँ भएकाले यसको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौँ”, उनले भने, “डिपिआर तयार पारेर पर्यटन मन्त्रालय, विभाग र नगरपालिकाको लागत साझेदारीमा काम गर्ने गरी बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।”रु सात करोड लागतमा त्यहाँ इकोलोजिकल, बायोइञ्जीनियर विधिबाट उद्यान निर्माण गर्नका लागि डिपिआर तयार गरिएको नगरप्रमुख खाँणले बताउनुभयो । त्यहाँसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने, खानेपानीको व्यवस्थापन, अन्य पूर्वाधार निर्माण गरिएको छ । पहिले पहिले यहाँ फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बाहुनथानमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको स्थानीयवासीको भनाइ छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।