ताजा अपडेट »

दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब

मंगलबार, २८ असोज २०७६, १५ : ४५
6 Shares

असोज २८,
काठमाण्डौँ / चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३ दशमलब ०५ प्रतिशतले कम भएको छ । सो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार दुई महिनामा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५ दशमलब ८७ प्रतिशतले बढी हो । उक्त आवको दुई महिनामा १४ अर्ब ६९ करोड ९० लाख रुपैया बराबरको वस्तु निर्यात भएको तथ्यांक रहेको छ ।
दुई महिनाको अवधिमा कूल वैदेशिक व्यापार भने २ खर्ब ४८ अर्ब ५५ लाख रुपैयाँ बराबरको भएको छ । नेपालको कूल वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत देखिने गरी वृद्धि भएको छ । नेपालले सबै भन्दा धेरै छिमेकी मुलुक भारतमा व्यापार गर्ने गर्छ । दोस्रोमा व्यापार गर्ने मुलुकमा चीन पर्ने गर्छ ।

नेपालको कूल १ सय १६ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा भारत र चीनसँग रहेको छ । चालु आवको पहिलो दुई महिनामा भारतबाट १ खर्ब ४३ अर्ब २३ करोड रुपैयाँ बराबरका सामान भित्रँदा भारततर्फ १२ अर्ब १५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांक छ । चीनबाट ४० अर्ब ५६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ भने २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ । सरकारले व्यापार घाटा कम गर्ने कार्यायोजना तयार गरेर पनि कार्यान्वयनमा आउन नसक्दा व्यापार घाटा कम हुन सकेको छैन । स्वदेशी वस्तुको लागत महंगो पर्नु, अन्तर्राष्ट्रिय बजारा प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनमा स्वदेशी वस्तुको निर्यात बढ्न सकेको छैन । - कारोबार/ लक्ष्मी सापकोटा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।