ताजा अपडेट »

एनआरएनको चहलपहल, निर्वाचनमा २५ सयको सहभागिता

मंगलबार, २८ असोज २०७६, ११ : ५९
6 Shares

असोज २८,
काठमाण्डौं । गत बर्ष सुनसानजस्तो देखिएको गैरआवासीय नेपाली (एनआरएन) हरुको चहलपहल यसपाली नेतृत्व छान्नु पर्ने भएका कारण ह्वात्तै बढेको छ। आजबाट सुरु भएको नवौ विश्व सम्मेलनको चहलपहल यसपाली दशैंअघिबाटै सुरु भएको थियो।  सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्।

सम्मेलनमा अध्यक्षका प्रत्यासी बेलायतमा व्यवसाय गरिरहेका कुल आचार्य र जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तबीच हुँदैछ। चुनाबकै लागि आचार्यले रोयल सिंगे र पन्तले याक एण्ड यति होटलमा आफ्नो सम्पर्क कार्यालय राखेर अभियान अघि बढाइरहेका छन्। आचार्य र पन्त दुबै कठिन परिश्रमबाट विदेशमा व्यवसायको साम्राज्य फैलाउन सफल भएका व्यक्ति हुन्। पर्वतका आचार्यले बेलायतमा आफ्नै रेष्टेरेन्ट होली काउ स्थापना गरेका छन्। अहिले यो रेष्टुरेन्ट यूरोपभरि फैलाउने अभियानमा छन्।  गोरखाका पन्तले अध्ययनका सिलसिलामा वेल्जिमय हुँदै जर्मनीमा होटलमा काम गरेका थिए। अहिले जर्मनीमा उनी र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेको लगानीमा तीन दर्जन होटल संचालनमा छन्। दुबै अध्यक्षका प्रत्यासीलाई खुलेर दुई पूर्व अध्यक्षले मात्रै साथ दिएका छन्। पन्तलाई जीबा र आचार्यलाई शेष घलेले साथ दिएका छन्। संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो अहिलेसम्म मौन छन्। सँधाझै यसपाली पनि उनी अन्तिम समयसम्म सहमतिमा अध्यक्ष बनाउन सक्रिय हुने मनस्थितिमा छन्। अघिल्लो पटक सहमति नभएका कारण यसपाली पनि सर्वसम्मत नेतृत्व चयन हुनेमा भने शंका छ।

सम्मेलनमा  ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ। चुनाबको पूर्व सन्ध्यामा सोमबार दरबारमार्ग क्षेत्रमा गैरआवासीय नेपालीको बाक्लो उपस्थिति देखिन्थ्यो। सामाजिक संस्थाको रुपमा स्थापना भएको एनआरएनएको अभियान राजनीतिक दलमा विभाजित बन्न थालेको स्पस्ट देख्न थालिएको छ। यो पटकको निर्वाचनमा आचार्य नेपाली कांग्रेस र पन्त वामपन्थी समूहको रुपमा अर्थ्याइएको छ। चुनाबी अभियानमा दुबैतर्फ आआफ्नो दलका नेताहरुको सहभागिताले समेत यो शंकालाई लाभ पुर्याइरहेको छ। आचार्यको सोमबार भएको पत्रकार सम्मेलनमा कांग्रेसका तल्ला तहका नेताहरुको उपस्थिति बाक्लो देखिन्थ्यो। पन्तले राखेको याक एण्ड यतिको सम्पर्क कार्यालयमा नेकपा निकट युवा समूहको सहभागिता पनि देखिएको थियो। विगतमा पनि राजनीतिक दलको सहभागिता नभएको होइन। विदेशमा विभिन्न सभासम्मेलनमा जाँदा होस् वा चुनाबी खर्चका लागि कतिपय नेताहरुले विदेशमा बसेका नेपालीबाट सहयोग पाइरहेका छन्। 

ती नेताहरुले एनआरएनएको निर्वाचनका बेलामा सहयोग गर्छन्। त्यही सम्वन्ध विकसित हुँदै अहिले संघमा राजनीतिक रङ्ग ह्वास्सै वाहिर आएको हो। त्यही भएर यो पटकको निर्वाचनलाई नेपाली कांग्रेस र नेकपाको हारजीतकै रुपमा हेरेका छन्। विदेशमा अध्ययन र कामका सिलसिलमा गएका नेपालीलाई गोलबन्द गर्ने अभियान सन् २००३ बाट सुरु भएपछि विभिन्न आरोहअवरोध पार गरेको छ। सुरुवाति चरणमा धेरै ठूला योजनाहरु वाहिर ल्याएको यो अभियानले कार्यान्वयनमा नदेखिँदा आलोचित पनि छ। अध्ययन र कामका सिलसिलामा गएका नेपालीले सम्मेलनमा आएर ठूला आयोजनाको घोषणा गरेर आलोचना खेपेपछि नेतृत्व तह केही सम्हालिएको थियो। पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने र शेष घले लगायतले ठूला सपना देखाउनेभन्दा कार्यान्वयन हुने योजनामा मात्रै केन्द्रित हुनुपर्ने भन्दै सम्हालिनतर्फ लागेका थिए। अहिले ठूला आयोजना भन्दा गर्न सक्ने विषयलाई मात्रै वाहिर ल्याउन खोजिएको छ। तर पनि अभियान आलोचनामुक्त भने छैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।