ताजा अपडेट »

रुपन्देही उद्योग संघमा निर्वाचनको सरगमी बढ्यो

मंगलबार, २८ असोज २०७६, ११ : ४६
10 Shares

असोज २८,
बुटवल । आगामी असोज ३० गते विहीवार हुने रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको सोमवारबाट निर्वाचन कार्यक्रम सुरु भएको छ । अधिवेशनको रुपन्देही क्षेत्र नं. २ का सांसद, पूर्व अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुसार सोमबार मतदाता नामावली प्रकाशन गरिएको छ । २८ गते मंगलवार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ भने उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली २९ गते बुधवार प्रकाशन गरिने छ । अधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्न गठित संघका कानुनी सल्लाहकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहेको ३ सदस्यीय निर्वाचन समितिले सोमवारबाट निर्वाचनको काम आरम्भ गरेको छ । समितिमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी र संघका प्रेस सल्लाहाकार सुमन अधिकारी सदस्य रहेका छन् ।
अधिवेशन बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माविको सभाहलमा गर्ने गरी स्थान तय भएको संघले जनाएको छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव(महिला), सहकोषाध्यक्ष, एशोसिएट सदस्यसहित ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने छ । निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मतदाताको संख्या १ हजार ३० रहेका छन् । जसमा साधारण ८९३, एशोसिएट ४९, संंस्थागत ७ र महिला ८१ रहेका छन् । अधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिका लागि उद्योगीहरुले उम्मेद्वारी घोषणा गरेका छन् । संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि उद्योगीहरुमा चुनावी रौनक सुरु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।