ताजा अपडेट »

तिनाउको कचलमा आधुनिक स्वास्थ्य भवन, ल्याव सेवा सञ्चालनमा जोड

मंगलबार, ०७ मंसिर २०७८, ११ : ३३
8 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा आधुनिक स्वास्थ्य भवन सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

संघीय सरकारको १ करोड २५ लाख लागतमा १२ कोठाको भवन निर्माण सम्पन्न भएको अध्यक्ष घर्तिले जानकारी गराए । २४ सै घण्टा प्रसुती सेवा समेत दिँदै आएको कचल स्वास्थ्य चौकीको अत्याधुनिक भवन निर्माण भएपछि सेवाग्राहीलाई थप सहज हुने गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले बताइन् । स्वास्थ्यचौकीमा थप सुविधा उपलब्ध गराउनका लागि आवश्यक पहल गरिने समेत उनले प्रतिवद्धता जनाइन् ।
तिनाउ–१ को सबैभन्दा बढी जनघनत्व भएको कचलमा अवस्थित यस स्वास्थ्य चौकीबाट दैनिक स्वास्थ्य सुविधा लिने सेवाग्राहीहरुलाई थप सहज हुने अपेक्षा गरिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

तिनाउका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले सरकारी स्वास्थ्यकेन्द्रमा जनविश्वास कायम गर्नका लागि भरपर्दो र स्तरीय सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । तिनाउ–१ का अध्यक्ष रोमबहादुर लम्तरीले स्वास्थ्यचौकीमा थप स्वास्थ्य सुविधाहरु विस्तार गर्न आवश्यक रहेको औल्याए । घरदैलोमै सुविधासम्पन्न स्वास्थ्यचौकीहुँदा हुँदा समय र पैसाको बचन हुनुका साथै जनताको स्वास्थ्य स्तर समेत वृद्धि हुने अपेक्षा व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य चौकीका इन्चार्ज नरप्रसाद थापाले सुविधा विस्तार गरी ल्याव सेवा समेत सञ्चालनमा ल्याउन आवश्यक रहेको औल्याए । सरकारले आवश्यक बजेटको व्यवस्था गरी ल्याप सञ्चालनमा ल्याउन सकेमा ठूला रोगहरुको समेत उपचार गउँघरमै गर्न सकिने बताए । गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य ईकाइ सञ्चालनमा आएसँगै स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप घटेको बताउँदै उनले सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

संघीय सरकारको लागतमा शहरी बिकास तथा भवन निर्माण कार्यालयले भवनको निर्माण गरेको छ । ४ रोपनी क्षेत्रफलमा रहेको यस भवनमा खानेपानी, फर्निचर लगायतका सामग्री लगायतका समस्या अझै बाँकी रहेको बताउँदै स्वास्थ्य चौकी इन्चार्ज थापाले गाउँपालिकाको पहलमा छिट्टै उक्त व्यवस्था समेत हुने अपेक्षा गरे । स्वास्थ्य चौकीमा इन्चार्ज थापासहित २ जना अहेव, २ जना अनमी र एक कर्मचारीसहित ६ जना कार्यरत रहेका छन् ।

भवन निर्माण विभागका ईन्जिनियर ध्रुव पौडेलले भवन हस्तान्तरण्को प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे । भवन उद्घाटन कार्यक्रमको सञ्चालन प्रेम खत्रीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।