ताजा अपडेट »

पूर्व सभामुख महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै

मंगलबार, २८ असोज २०७६, ११ : ३१
6 Shares

असोज २८,
काठमाण्डौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतमा प्रस्तुत गराइने भएको छ। प्रहरी हिरासतमा रहेका महरालाई मंगलबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी प्रहरीले दिएको हो। प्रहरी हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ।

गत असाेज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महराविरुद्ध पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियाे। महरामाथि यौन दुराचारको आरोप लगाएकी रोशनी शाहीले असाेज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा शनिबार जाहेरी दिएकी छिन्। महरालाई असाेज १९ गते आइतबार साँझ ६ बजे सभामुखकाे सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको थियाे। स‌ंघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएलगतै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। गत असाेज १२ गते आइतबार साँझ रोशनीको तिनकुनेस्थित डेरामा पुगेका महराले राति पौने ९ बजे आफूमाथि यौन दुराचार गरेको तथा कुटपिट समेत गरेको उनले आरोप लगाएकी छिन्।

महराले असाेज १३ गते सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए। रोशनीले घटनाको ६ दिनपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा बलात्कारको प्रयास तथा कुटपिट गरेको उल्लेख गर्दै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। प्रहरीका अनुसार रोशनीले असाेज १७ शुक्रबारै स्वास्थ्य परीक्षण गराएकी थिइन्। त्यसअघि उनको कोठामा फेला परेका सामग्रीको फोरेन्सिक जाँच गरिसकिएको प्रहरीले बताएको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार पक्राउ पूर्जी जारी गरेको हो। कार्कीले उक्त ऐनको दफा ९ मा कसुरदारलाई पक्राउ गर्न सकिने व्यवस्था रहेको जानकारी दिए।-नेपाल न्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।