ताजा अपडेट »

कांग्रेसको क्षेत्रीय अधिवेशन : कस्तो आउँला रुपन्देहीका यी चर्चित अनुहारको नतिजा ?

सोमबार, ०६ मंसिर २०७८, १३ : ०७
4 Shares

भैरहवा । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत रुपन्देहीमा आज संघीय निर्वाचन क्षेत्र अन्तरगतको अधिवेशन सुरु भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय सभापतिदेखी महाधिवेशन प्रतिनिधि सम्ममा चर्चित अनुहारहरुले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने स्थानीय तह प्रमुखसँगै लुम्बिनी प्रदेशमा मन्त्री रहेकाहरु क्षेत्रीय अधिवेशनको बिभिन्न पदमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभा सदस्यहरु रमा अर्याल, पुष्पा थरुनी, वसिउद्दिन खाँ, फकरुद्दिन खाँ, अष्टभुजा पाठकले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता वसिउद्दीन खाँ र अष्टभुजा पाठकले निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका छन् । यस्तै रमा अर्याल र पुष्पा थरुनीले निर्वाचन क्षेत्र नम्बर ३ र फकरुद्दिन खाँले निर्वाचन क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

नेपाली कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरि रहेका गृहमन्त्रीका भाई रामृकष्ण खाँणले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले निर्वाचन क्षेत्र नम्बर ४ र देवदह नगरपालिकाका प्रमुह हिरा केसीले निर्वाचन क्षेत्र नम्बर १ को सभापति पदमा उम्मेदवारी दिएका छन् । यस्तै संविधान सभा सदस्य समेत रहेका ईस्तियाक अहमद खाँनले क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको लागि उम्मेदवारी दिएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र बिश्वनाथ यादव सभापति पदका लागि आ-आफ्नो प्यानल नै खडा गरि चुनावमा होमिएका छन् । क्षेत्र नम्बर २ मा काजीमान श्रेष्ठ र वर्तमान क्षेत्रीय सभापति हरि लम्साल आ-आफ्नो प्यानल बनाई उम्मेदवारी दिएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा वर्तमान क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव र शुसिल गुरुङको प्यानल बीच चुनाव हुँदैछ । क्षेत्र नम्बर ४ मा पनि वर्तमान क्षेत्रीय सभापति मुकेश यादव र बिनोद श्रीवास्तव बीच प्यानल बनाएर चुनाव हुदैछ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ५ मा वर्तमान सभापति वसिउल्लाह खाँ कै नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएको मूख्य निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देशका अधिकांश स्थानमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । आज विभिन्न ६० जिल्लाका १ सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा