ताजा अपडेट »

तिला गाउँपालिकाका १४ गाउँ छुइगोठ मुक्त

आइतबार, ०५ मंसिर २०७८, १४ : १९
2 Shares

खलङ्गा । जुम्लाको तिला गाउँपालिकाभित्रका १४ गाउँबस्ती छुइगोठमुक्त भएका छन् । यहाँको गैरसरकारी संस्था सर्वोदय नेपालसँगको समन्वयमा गाउँपालिका छुइगोठ मुक्त अभियानमा जुटेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताईन् । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको जनाउँदै उनले भनीन्, “छाउपडी प्रथा महिलाको वृत्ति विकासको बाधक हो, महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान एक नमूना कार्यकारुपमा अघि बढेको छ, हालसम्म गाउँपालिकाका १४ बस्ती छुइगोठ मुक्त भइसकेका छन् ।” बाँकी बस्ती छाउगोठ मुक्त हुने क्रम जारी रहेको उनले बताईन् ।

सर्वोदय नेपाल र इटालियन फाउण्डेशनको सहयोगमा यहाँका बस्ती छाउगोठ मुक्त कार्य अघि बढेको छ । स्थानीय सरकारसँग समन्वय गरेर छाउगोठ मुक्त अभियान तीव्र गतिमा अघि बढेको सर्वोदय नेपालका केन्द्रीय कार्यकारी निर्देशक धनबहादुर ऐरले बताए । सो गाउँपालिकाले सन् २०२१ सम्म पूरै गाउँपालिकालाई छाउगोठ मुक्त बनाई सक्ने रणनीति तयार पारेअनुसार सहयोग गरेकोे छ । छाउगोठ मुक्त बस्ती घोषणा गर्न महिनामा दुईपटक गाउँमा छलफल तथा सचेतनाका क्रियाकलाप हुने गरिएको छ । प्रत्येक तीन महिनामा घरधुरी सर्वेक्षण र घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएका कारण महिलामा परिवर्तन आएको सर्वोदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए ।

वडापालिका र गाउँपालिकास्तरीय समन्वयात्मक बैठक तथा अनुगमन गरेर मात्र छाउगोठ मुक्त बस्ती घोषणाको तयारी गरिएको हो । सरकारले छाउपडीउन्मूलन निर्देशिका ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन । निर्देशिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्धारण गरेको छ । यो निर्देशिका गाउँसम्म पुग्न सकेको छैन । तिला–४ का स्थानीयवासी सिर्जना शाहीले भने, “हाम्रो समाजमा छाउपडी प्रथाले हिंसा बढाइरहेको छ, महिला हिंसाको एक प्रमुख कारण छाउपडी प्रथा हो ।”- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।