ताजा अपडेट »

कोभिडविरुद्धको फाइजर खोप आजबाट बालबालिकालाई

आइतबार, ०५ मंसिर २०७८, १३ : १६
8 Shares

काठमाडौं । कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ । कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल ह्दयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिए । उनका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ । आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पडाइएको उनले बताए ।

फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् । सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुबै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।