ताजा अपडेट »

पत्रकारहरु राजनीतिक दलको समितिमा भए सदस्यता खारेज: महासंघ

आइतबार, ०५ मंसिर २०७८, १२ : २३
4 Shares

बुटवल । नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका केन्द्रिय महासचिब रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गरी पत्रकारहरु प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट आएका आलोचना तथा टीकाटिप्पणीलाई महासंघ केन्द्रीय समितिले गम्भीर रूपमा लिएको बताएका छन् ।

पत्रकारहरु राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा सदस्यता खारेज गरिदिने समेत महासंघले चेतावनी दिएको छ । ‘नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन२०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको छ । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’–विज्ञप्तिमा भनिएको छ ।


राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा भन्दै पत्रकारहरुलाई उच्च नैतिकता प्रर्दशन गर्न पनि महासंघले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।