ताजा अपडेट »

वेपत्ता युवा छ दिनपछि मृत फेला

आइतबार, ०५ मंसिर २०७८, १० : ३६

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता बनेका राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् । 

मादक पदार्थ सेवन गरेर नशा लागेको बेला लडेर मानसिक सन्तुलन गुमाएका राईलाई जिल्ला अस्पतालमा उपचारमा लगेर घर ल्याउने क्रममा राति पिसाब फेर्न जाने भन्दै गाडीबाट ओर्लिएपछि सम्पर्कविहीन बनेका थिए । उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष राजदेश राईले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमार २ मंसिरमा जाहेरी दिएका थिए । 

 २८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनको मानसिक सन्तुलन गुमेको थियो । मानसिक सन्तुलन गुमाएर ‘अस्थिर’ र बेहोसमा कुरा गर्न थालेपछि उनलाई गाडी रिजर्भ गरेर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारमा राखेकैबेला पनि निस्केर हिँडेका उनी गाईघाटको शिवालयटोलमा भेटिएका थिए । पुन उपचारमा लैजान खोज्दा ‘ठीकै छु, घर जान्छु’ भनेपछि उनलाई गाडीमा हिँडाइएको थियो । 

३० कात्तिकमा विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द आह्वान गरेका कारण उनलाई अघिल्लो दिन राति गाईघाटबाट खोटाङ हिँडाइएको वडाध्यक्ष राईले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।