Jan 31, 2023
काठमाण्डौं । सङ्घीय संसद्मा रहेका अधिकांश दल यतिबेला आ–आफ्नो राष्ट्रिय महाधिवेशनमा सक्रिय भएका छन् । महाधिवेशनमा खर्च जुटाउन दलहरूले विभिन्न उपाय अवलम्बन गरेका छन् । दलहरूको आर्थिक खर्च व्यवस्थापन पारदर्शी नहुने गरेको तथा भड्किलोे कार्यक्रम हुने गरेकोजस्ता चर्चासमेत हुने गरेका छन् । तर, नेताहरूले निर्वाचन खर्चलाई मितव्ययी र पारदर्शी बनाउने दाबी गरेका छन् ।
सत्तारूढ नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) देखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका दल यतिबेला महाधिवेशनमा व्यस्त छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण दलहरूले निर्धारित समयमा अधिवेशन गर्न सकेका थिएनन् । यतिबेला दलहरूको अधिवेशनको चहलपहलसमेत बढेको हो ।काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्न हाल सातै प्रदेश अधिवेशन जारी छ । अधिकांश क्षेत्रको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । कुल चार हजार पाँच सयको हाराहारीमा महाधिवेशन प्रतिनिधिले काँग्रेसको भावी नेतृत्व चयन गर्नेछन् ।
अनुमानित रकम तय हुँदै
काँग्रेसले महाधिवेशनका लागि आर्थिक समिति संयोजकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिएको छ । उहाँ सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पनि हुनुहुन्छ । आर्थिक समितिले पूर्णता पाएसँगै १४औँ महाधिवेशनको व्यवस्थापन पक्षलगायत आय तथा खर्च विवरणको अनुमानित रकम तय हुने जानकारी उनले दिए ।
काँग्रेसले महाधिवेशनका लागि आवश्यक आर्थिक स्रोतका रूपमा पार्टीका झन्डै नौ लाख क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिबाट सङ्कलन गर्दै आएको छ । अपुग रकम आन्तरिक स्रोतबाट सङ्कलन गर्ने जनाइएको छ । पार्टीका सचिव केशव रिजालले महाधिवेशनका लागि आवश्यक पर्ने भोजन, आवास, सजावट, होटल खाना, स्टेसनरी सामानलगायतको लागत अनुमान गर्ने कार्य भइरहेको बताए।
साढे सात करोड लाग्ने
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनको सौराहामा हुँदै छ । पार्टीका विशेष आमन्त्रितबाहेक पाँच लाख कार्यकर्ता सहभागी हुने दाबी गरिएको छ । महाधिवेशन आर्थिक व्यवस्थापन समितिका संयोजक विष्णु रिमालका अनुसार, महाधिवेशनमा करिब साढे सात करोड रुपियाँ खर्च लाग्ने अनुमान छ ।
महाधिवेशन खर्च पार्टी र शुभेच्छुकबाट स्वेच्छिक सहयोग लिनेबाहेक चन्दा नउठाउने जनाइएको छ । एमालेमा साढे आठ लाख सङ्गठित सदस्य छन् । उनीहरूबाट कम्तीमा एक सय रुपियाँका दरले उठाउँदासमेत पार्टीको महाधिवेशन खर्च जुट्ने भनाइ नेताहरूको छ ।
लागत अनुमान बाँकी
सत्तारूढ नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा हुने तय भएको छ । सम्मेलनको आर्थिकलगायतको व्यवस्थापनबारे स्थायी समितिको बैठकले तय गर्ने नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । माओवादीको वडाधिवेशन शनिबारबाट सुरु भइसकेको छ । सम्मेलनमा झन्डै एक हजार छ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् ।
राप्रपालाई दुई करोड
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि यही मङ्सिर १५ देखि १७ सम्म काठमाडौँमा महाधिवेशन गर्दै छ । पाँचौँ पटकसम्म कार्यतालिका परिवर्तन भएको राप्रपाको महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । पशुपतिशमशेरले नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा लोकतान्त्रिक पार्टीको एकीकरणपछि हुन लागेको यो महाधिवेशनमा झन्डै चार हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए । महाधिवेशनका लागि झन्डै दुई करोड रुपियाँ खर्च हुने अनुमान छ ।-मित्र भण्डारी/गोरखापत्र अनलाइन
प्रतिकृया दिनुहोस्