ताजा अपडेट »

नेपाललाई चार वर्षभित्र सडकआश्रित मानवमुक्त गर्ने योजना

शनिबार, ०४ मंसिर २०७८, २२ : ०६
4 Shares

दाङ। नेपाललाई अबको चार वर्षभित्र सडकआश्रित मानवमुक्त गर्ने लक्ष्य राखिएको छ । मानव सेवा आश्रमले आगामी २०८२ सालभित्र नेपालमा सडकआश्रित मानवमुक्त बनाउने योजना अघि सारेको हो । 

मानव सेवा आश्रमले अबको चार वर्षभित्र सडकमा बेवारिसे अवस्थामा जीवन बिताइरहेका नागरिकलाई सहारा दिने प्रतिबद्धता गरेको हो । आश्रमका संस्थापक रामजी अधिकारीले अबको चार वर्षभित्र सडकआश्रित मानवमुक्त नेपाल बनाउने उद्देश्य अनुरूप आफूहरू अघि बढिरहेको बताए । 

सडक आश्रित मानवमुक्त अभियानलाई सार्थक बनाउन दाङको तुलसीपुरमा पनि मानव सेवा आश्रमको सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले आश्रमको उद्घाटन गरेकी छन् ।  

मन्त्री घर्तीले सडकआश्रित मानवमुक्त अभियानलाई सार्थक बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताइन् । मानव सेवा आश्रम दाङ शाखाको उद्घाटन गर्दै मन्त्री घर्तीले बेसहारा सडक मानवको उद्धार तथा आवश्यक पालन पोषण सरकारको प्रमुख दायित्व भएको बताइन् । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

बेसहारा, अशक्त तथा विभिन्न कारणले सडकमा बेवारिसे जीवन बिताइरहेका नागरिकलाई सहारा प्रदान गर्ने उद्देश्यले स्थापना भएको मानव सेवा आश्रमको तुलसीपुर शाखाको उद्घाटन गरिएको हो । नगरप्रमुख घनश्याम पाण्डेले विकासको सबैभन्दा घातक पक्ष भनेको व्यक्ति आफ्नो खराब सोच र व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि तयार हुनुले वर्तमान अवस्थामा हाम्रो सोचलाई विखण्डन बनाएको बताए । अहिलेको समाजमा पनि युवाहरू बेसहारा बन्नु निकै प्रशंसनीय भएको बताए ।  

मानव सेवा आश्रमले लुम्बिनी प्रदेश सहित ७ वटै प्रदेशका १७ स्थानमा आश्रम सञ्चालनमा ल्याएको छ । आश्रमको तुलसीपुर शाखामा हाल ३७ जना बेसहारा मानिसले सहारा लिइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।