ताजा अपडेट »

सिटिजन र विवानद्वारा बुटवल मजुवामा निःशुल्क स्वास्थ्य शिविर,४ सयले लिए परीक्षण,उपचार र औषधि सेवा

शनिबार, ०४ मंसिर २०७८, १५ : ३२
2 Shares

बुटवल । सिटिजन लाइफ इन्सुरेन्स र विवान फार्मेसी बुटवलको आयोजना र बुटवल उपमहानगरको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार बुटवल–११ मजुवा स्थित सूर्योदय आधारभूत विद्यालयमा भएको स्वास्थ्य शिविरमा करिब ४ सय जनाले निःशुल्क सेवा लिएको आयोजक विवान फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले जानकारी दिए ।

विभिन्न किसिमका बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरेको सिटिजन लाइफ इन्सुरेन्स कम्पनीका बुटवल शाखा प्रमुख पूर्णचन्द्र सुवेदीले बताए। उनले यस अगाडि वृहत रक्तदान कार्यक्रम गरेको बताउँदै केहि दिनपछि गरिब तथा विपन्न वर्गका लागि न्यानो कपडा वितरण कार्यक्रम पनि गर्ने जनाए ।

औपचारिक कार्यक्रमसँगै बिहानैबाट सुरु भएको शिविरमा यूरिन,सुगर,मृगौला लगाएतका परीक्षणसँगै ५ जना डाक्टर र ४ जना विशेषज्ञसहित १८ जना स्वास्थ्यकर्मीबाट सेवा दिइएको आयोजक विवान फार्मेसीका प्रबन्ध निर्देशक ढकालले बताए । विकसित मानिने बुटवलकै मजुवामा गरिब तथा विपन्न वर्गको ठूलो संख्या र सहज स्वास्थ्य सेवाको अभाव भएको हुँदा सो क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको उनले बताए । नाफा भन्दा सेवालाई केन्द्रित गरी विभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर फार्मेसी सञ्चालन गरेको बताउँदै उनले शिविरमा औषधि पनि निःशुल्क वितरण गरेको बताए ।

स्वास्थ्य शिविरमा सहभागी एक सेवाग्राहीले कम्तीमा ५ सयदेखि १५ सय सम्मको सेवा तथा औषधि निःशुल्क प्राप्त गरेको बताउँदै स्थानीयको उत्साहजनक सहभागिताले शिविर सफलताका साथ सम्पन्न भएको सिटिजन लाइफ इन्सुरेन्स बुटवलका प्रमुख सुवेदीले बताए। उनका अनुसार शिविर सञ्चालनका लागि २ लाख बढी लागत लागेको छ ।

सिटिजन लाइफ इन्सुरेन्स कम्पनीका चिफ बिजनेश अफिसर सुनिल पोख्रेलको प्रमुख आतिथ्यता, विवान फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालको अध्यक्षता,क्षेत्रिय शाखा प्रबन्धक दुर्गाराज ढकालको विशिष्ट आतिथ्यतामा भएको निःशुल्क स्वास्थ्य शिविरमा विद्यालयकी प्रधानाध्यापक शोभा अधिकारी,व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर क्षेत्री, स्थानीय टोल विकास संस्थाका प्रमुख प्रकाशकुमार श्रेष्ठ,खानेपानी संस्थाका अध्यक्ष कृष्ण बहादुर क्षेत्री,सिटिजन लाइफ इन्सुरेन्सका एबिएम लक्ष्मण मरासिनी, नरेश सिग्देल,बिएम रवि काफले, युवराज तिवारी, विवान फार्मेसीका फार्मेसी डाइरेक्टर सुरेन्द्र प्रसाद यादव ,फार्मेसिष्ट इन्दिरा चौधरी , संगिता गहतराज ,मेडिकल ल्याब टेक्निसियन मनिष महतो ,डाः मुकेश सापकोटा , निशा खनाल लगाएतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।