ताजा अपडेट »

पोखरा र बंगलादेशबीच पर्यटकीय साझेदारी गरिने

विहीबार, ०२ मंसिर २०७८, १८ : ४५
6 Shares

पोखरा । बंगलादेशका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारीलगायतका विषयमा पोखरामा छलफल भएको छ । बिहीबारको छलफलमा दुवै ठाउँका पर्यटन व्यवसायीहरूले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहल गर्ने समझदारी भएको हो ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालको निमन्त्रणामा बंगलादेशी टिम पोखरा आएको हो । छलफलका क्रममा पाटा नेपालका कार्यकारी सदस्य टीकाराम सापकोटाले अझै धेरै पर्यटक पठाइदिन आग्रह गरे । ‘बंगलादेश नेपालका लागि राम्रो पर्यटक आउने देश हो । कोभिडअघि उहाँहरूको भ्रमण धेरै हुन्थ्यो । खर्च पनि धेरै गर्ने पर्यटक आउँछन्,’ उनले भने, ‘अहिले सुस्ताएको छ । अब पनि धेरै पर्यटक पठाइदिन आग्रह गरेका छौँ ।’

व्यवसायीबीचमा विजनेस नेटवर्किङका हिसाबले कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार कोरोना संक्रमणअघि वार्षिक २६ हजार बंगलादेशी पर्यटक नेपाल घुम्न आउँथे । अहिले मुस्किलले एक हजार ५०० जति छन् । पाता बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपाल पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले पर्यटक पठाउन गाह्रो नपर्ने बताए ।

‘यहाँ घुम्ने ठाउँहरू धेरै छन् । सुन्दर प्रकृति छ । पर्यटकहरू यहाँ आउन लालयित छन्,’ उनले भने, ‘खाली कोरोनाका कारण अप्ठ्यारोा परेको हो । अब विस्तारै मान्छेहरू घुम्न निस्किएका छन् ।’ उनले दुई देशबीच पर्यटकीय सम्बन्ध मजबुत बनाउनुपर्ने बताए । पाटा बंगलादेशका पदाधिकारी, पर्यटन व्यवसायी र संचराकर्मीसहित १८ जनाको टोली पोखरा आएको छ । उनीहरूले पोखराको भ्रमण पनि गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।