ताजा अपडेट »

बुटवलमा ७ करोड बढीको बहुउद्देश्यीय भवन निर्माण, प्रहरी महानिरीक्षक थापाद्वारा उद्घाटन

विहीबार, ०२ मंसिर २०७८, १६ : ३२
4 Shares

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको परिसरमा ७ करोड बढीको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरिएको छ । ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा निर्माण भएको उक्त भवनको बिहीबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक थापाले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यविधि निर्माण गरी संरक्षण गर्नुपर्ने उल्लेख गरे ।

सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा एफसीडिओ यूकेका प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
एफसिडियोको सहयोगमा यूएनओपिएस अन्तर्गत एमआईपीपी आयोजनाबाट उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।